अध्यक्ष प्रचण्डद्वारा डेढ महिनामा निर्माण भएको १४ किमी सडक उदघाटन

रौतहट, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले जङ्गल सैया–कठहरिया सडकको उदघाटन गर्नुभएको छ ।

रौतहटको गुजरा नगरपालिका अन्तर्गत पर्ने उक्त १४ किलोमिटरको सडक एक महिना १६ दिनमा निर्माण भएको हो ।

सडकको उदघाटन गर्न पुगेका अध्यक्ष प्रचण्डलाई धन्सार चोकमा आयोजित एक कार्यक्रममा स्थानीयवासीले ५५ किलोको मालाले स्वागत गरेका थिए ।

सडक उदघाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले नेपालमा समृद्धि, विकास र सुशासनका लागि ठूलो ऐतिहासिक अवसर आएको बताउनुभयो । “जनताले निर्वाचनमार्फत हामीलाई विश्वास गरेका छन् ।” अध्यक्ष प्रचण्डले भन्नुभया, “वामपन्थी सरकारले विकास र सुशासनमा केन्द्रीत हुने संकल्प लिएको छ ।”

अध्यक्ष प्रचण्डले नेपालका अगाडि दु्रतगतिमा विकास गर्नुको विकल्प नभएको बताउनुभयो । जनताले विकास र सुशासन खोजेको र त्यसका लागि विश्वास गरेर झण्डै दुई तिहाई वाम गठबन्धनलाई मत दिएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले यो ऐतिहासिक अवसरलाई उपयोग गरेर समृद्धितर्फ जाने वाम सरकारको मुख्य संकल्प हुने बताउनुभयो ।

नेपालमा विकास निर्माणका कामहरुमा ढिलासुस्ती हुने गरेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले १४ किलोमिटर बाटो डेढ महिनामा पुरा गरेर अरुलाई समेत ठूलो उदाहरण दिनुभएको भन्दै स्थानीयवासीलाई धन्यवाद दिनुभएको थियो । “तपाईहरुले एउटा लहर सिर्जना गर्नुभएको छ ।” अध्यक्षले भन्नुभयो, “अब यो लहर देशैभरी उठने छ ।”

सडक निर्माणभएसँगै उक्त क्षेत्रका चारवटा नगरपालिकाका नागरिकलाई निजगढ र पथलैया आयजाय गर्न सहज हुने भएको छ । माओवादी नेता प्रभु साहको पहलमा बनेको उक्त सडकको उदघाटन गर्न अध्यक्ष प्रचण्ड चितवनबाट त्यहाँ पुग्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार ८:३:२७