अध्यक्ष प्रचण्डद्वारा नेता बर्मन बुढालाई पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका पुराना कम्युनिष्ट नेता तथा पूर्व सांसद बर्मन बुढालाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

बुधवार बिहान पशुपति आर्यघाटमा पुगी अध्यक्ष प्रचण्डले दिवंगत बुढालाई कम्युनिष्ट पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । अध्यक्षले दाहसंस्कारमा सहभागी उहाँका परिवारका सदस्यहरु तथा आफन्तजनलाई समवेदना व्यक्त गर्नुभएको थियो ।

यसअघि अध्यक्षले सामाजिक सञ्जालमा उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको उल्लेख गर्नुभएको थियो । उहाँको निधनको खबर पाउने बित्तिकै अध्यक्ष प्रचण्डले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको बताउनुभएको थियो ।

त्यसैगरी अध्यक्षले आज बिहान निधन हुनुभएका थारु समुदायका मुक्तियोद्धा कमरेड कुलचन्द्र महत्तोप्रति पनि श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । उहाँले नवलपरासी जिल्लाका क्रान्तिकारी कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा कमरेड कुलचन्द्र महत्तोको आज बिहान हुक्सीकोट गाउँपालिकामा असामयिक निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ ।

अध्यक्षद्वारा जारी समवेदनाको पूर्णपाठः–

हार्दिक समवेदना
रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको असामयिक निधनले मर्माहत बनाएको छ । कमरेड बुढाको पाटन अस्पताल, ललितपुरमा उपचारका क्रममा बुधबार बिहान साढे ४ बजे ९० वर्षको उमेरमा निधन भएको हो ।

नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा कमरेड बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको छ । सामन्तवाद विरोधी नेपाली जनताको मुक्तियुद्धमा उहाँ जहिले पनि अग्रमोर्चामा रहनुभयो ।

उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ । संघर्षका प्रेरणादायी अभिभावक कमरेड बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।

– अध्यक्ष, प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

हार्दिक समवेदना
नवलपरासी जिल्लाका क्रान्तिकारी कम्युनिष्ट नेता तथा थारु समुदायका मुक्तियोद्धा कमरेड कुलचन्द्र महत्तोको आज बिहान हुक्सीकोट गाउँपालिकामा असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ । ६८ वर्षको उमेरका नेता महत्तो लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो ।

शिक्षण पेशा त्यागी जनयुद्धमा समाहित अथक योद्धा कमरेड महत्तोको निधनले पार्टीले एक क्रान्तिकारी योद्धा गुमाएको छ भने सिंगो समुदायले अनुभवी नेताको अभाव महशुस गरेको छ ।

जुझारु नेता महत्तोप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
– अध्यक्ष, प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

कात्तिक ७, २०८१ बुधबार १५:१२:५६