अध्यक्ष प्रचण्डबाट सुर्खेतमा घाइते योद्धाहरुसँग भेट

सुर्खेत, २९ पुस । अध्यक्ष क. प्रचण्डले आज बिहान महान् जनयुद्धका घाइते योद्धाहरुलाई भेट गर्नुभएको छ । ६ नम्बर प्रदेशको बैठक तथा प्रशिक्षणका क्रममा सुर्खेत पुग्नुभएका अध्यक्ष क. प्रचण्डले भेटका क्रममा घाइते कमरेडहरुको नियमित उपचार व्यवस्थाको निम्ति पार्टीले कोष खडा गर्ने निर्णय गरेको बताउनु भयो ।

‘जीवन निर्वाह भत्ता नपाएका घाइते योद्धाहरुको सरकारबाट भत्ता उपलब्ध गराउने व्यवस्था मिलाउन पहल गरिने छ । जनयुद्धमा घाइते हुनुभएका कमरेडहरुले पार्टी नेतृत्व र क्रान्तिप्रति उच्च मनोबलका साथ आस्था बचाएर राख्नुभएको छ, यसप्रति धन्यवाद दिन चाहान्छु,’ अध्यक्ष क. प्रचण्डले भन्नुभयो ।

उक्त भेटघाटका क्रममा घाइते योद्धाहरुले पार्टी केन्दीय समितिको बैठकले गरेका निर्णयहरुबाट उत्साहित भएको, समाजवादी क्रान्तिको निम्ति अझ थप बलिदान गर्न समेत तयार रहेको बताउदै घाइते योद्धाहरुले भोग्नु परेका समस्याहरु अध्यक्ष क. प्रचण्ड समक्ष राख्नुभएको थियो । अहिले ६ नम्बर प्रदेशको पूर्ण बैठक बसिरहेको छ । अध्यक्ष क. प्रचण्ड आजै अपरान्ह राजधानी फर्कनु हुनेछ ।

माघ १९, २०८१ शनिबार ९:३९:५०