अध्यक्ष प्रचण्डसँग उत्तर कोरियाका राजदूत हाकको भेट

काठमाडौं, ७ माघ । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्नुभएको छ ।
आइतबार बिहान माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष प्रचण्ड र राजदूत हाकबीच भेट भएको हो। भेटमा राजदूत हाकले नेपालमा बाम गठबन्धन बनाएर निर्वाचनमा विजय हासिल गरेकोमा अध्यक्ष प्रचण्डलाई बधाई दिनुभयो । हाकले सेप्टेम्बरमा हुने कोरियन कम्युनिष्ट पार्टीको ७० औं पार्टी स्थापना दिवसका आतिथ्यताका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गर्नुभएको थियो ।
हाकले दक्षिण कोरिया र उत्तर कोरियाका जनता र आफूहरु पनि राष्ट्रिय एकता र एकीकरणको पक्षमा भएको जानकारी दिँदै नेपालमा प्रचण्डको नेतृत्वमा चलेको युद्धले एकात्मक सत्ताको अन्त्य र गणतन्त्रको स्थापना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
जवाफमा अध्यक्ष प्रचण्डले बधाईका लागि धन्यवाद दिँदै कोरियन कम्युनिष्ट पार्टीको स्थापना दिवसमा पार्टीको तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डल उपस्थित हुने जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले किम इल सुनको सङ्घर्षको गाथाबारे आफू जानकार रहेको बताउँदै नेपालमा शान्ति प्रक्रिया, संविधान निर्माण, संविधान कार्यान्वयनमा दलहरु मिलेर सफलता हासिल गरेको जानकारी दिनुभयो । सो अवसरमा अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि एमाले–माओवादी बीचको एकता छिट्टै टुङ्गोमा पुग्न लागेको हाकलाई जानकारी दिनुभएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ५:१८:१०