प्रचण्डसँग विश्व बैंकका कार्यकारी अधिकृत क्रिस्टालिनाको भेट

काठमाडौं, ७ माघ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग विश्व बैंकका प्रमूख कार्यकारी अधिकृत क्रिस्टालिना जिओर्भिइभाले भेट गर्नुभएको छ ।
आइतबार दिउँसो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको भेटमा क्रिस्टालिनाले संविधान निर्माण र तीन तहको निर्वाचन सम्पन्न गरेकोमा अध्यक्ष प्रचण्ड र नेपाललाई बधाई दिनुभएको थियो । क्रिस्टालिनाले बाम गठबन्धनको सरकारले नेपालमा सुशासन र समृद्धिको प्रत्याभूत गर्नेमा आफू विश्वस्त रहेको बताउँदै नेपालको विकासका लागि विश्व बैंक सहयोग र सहकार्य गर्न तत्पर रहेको जानकारी दिनुभएको थियो ।
जवाफमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम गर्न, विकास एवं समृद्धिलाई गति दिन र सुशासन कायम गर्न बाम गठबन्धन गरिएको जानकारी दिँदै त्यसले लगानीको वातावरण थप अनुकूल हुने जानकारी दिनुभएको थियो । अध्यक्ष प्रचण्डले ठूला जलविद्युत आयोजना, पर्यटन, कृषि र कृषिजन्य उद्योगको विकासमा आफूहरुको मूख्य ध्यान भएको बताउँदै त्यसका लागि विश्व बैंकको सहयोग जारी नै रहने विश्वास व्यक्त गर्नुभयो ।
बामपन्थीहरुको बहुमतपछि नेपाली जनतामा विकास र समृद्धिको उच्च आशा रहेको बताउँदै अध्यक्ष प्रचण्डले त्यसका लागि ठोस कार्ययोजना बनाएर अघि बढ्न लागेको जानकारी दिनुभयो । भेटका अवसरमा कार्यकारी अधिकृत क्रिस्टालिनाले विश्व बैंकले नेपालको पूर्वाधार विकास, रोजगारी सिर्जना र पशुजन्य उद्योगको क्षेत्रमा लगानी गरिरहेको जानकारी गराउनु भएको थियो ।

 

कात्तिक ७, २०८१ बुधबार ७:१४:२४