अध्यक्षले भन्नुभयो, अहिले माओवादी पहिचानको खोजी भइरहेको छ

काभ्रे, १८ फागुन । अध्यक्ष प्रचण्डले अहिले माओवादीको पहिचानको खोजी भइरहेको बताउनु भएको छ । काभ्रे जिल्लाको भकुण्डेवेसीमा आयोजित १ नं. र २ नं. क्षेत्रीय समन्वय समितिका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘माओवादी बलियो हुँदा र यसको पहिचान हुँदा मात्र अरुको अधिकार र पहिचानको सुनिश्चितता हुन्छ । माओवादी पहिचान कमजोर भयो भने उत्पीडित जाति, क्षेत्र, लिंगको पहिचान कमजोर हुन्छ ।’
जातीय सोचले त्यो जातिको मुक्ति सम्भव नहुने बताउँदै माओवादी र यसको नेतृत्वले मात्र जातीय मुक्ति सम्भव हुने उहाँको भनाई थियो । अध्यक्षले संविधान सभाको दोस्रो निर्वाचन पछि पार्टीमा लामो छलफल पछि सिंगै पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगको पार्टी निर्माण गर्ने निश्कर्ष निकालिएको बताउनु भयो ।

‘माओवादी पार्टीको निम्ति संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको समावेशी, समानुपातिक, धर्मनिरपेक्ष संविधान निर्माण गर्ने कुरा प्रमुख एजेण्डा बनायौं र त्यसमा गम्भीरतापूर्वक लाग्यौं । यदि संविधान निर्माणको कामलाई प्राथमिकता नदिएको भए संविधान सभाबाट संविधान निर्माण हुने थिएन ।’ उहाँले भन्नुभयो, ‘ यदि संविधान नबनेको भए जनयुद्धका उपदब्धी र औचित्य स्थापित हुन सक्ने थिएनन् ।’

उहाँले तेस्रो शक्ति भए पनि संविधान निर्माणमा एमाओवादीको पहिलो भूमिका रह्यो बताउँदै वर्तमान संविधानमा काँग्रेस र एमालेको नभएर माओवादी छाप रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘महिलाको ३३ प्रतिशत स्थान सुरक्षित हुने कुरा, समावेशी समानुपातिक प्रतिनिधित्व, संविधानमा समाजवाद उन्मुख व्यवस्था माओवादी पार्टीकै एजेण्डा र छाप हुन ।’

संविधान सभाबाट संविधान घोषणा गर्नु नेपाल राष्ट्र र नेपाली जनताको विजय भएको उहाँको भनाई थियो । ‘यो जितले देशैभरी जनतामा उत्साह जन्मियो, ’ उहाँले भन्नुभयो । एमाओवादी पहिलो पार्टी नबने संविधान कार्यान्वयनमा समस्या, राष्ट्रिय स्वाधीनता राष्ट्रिय स्वाभिमान समस्यामा पर्ने संघीयता, धर्मनिरपेक्षता खतरामा पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, ‘हामी राष्ट्रिय एकताको नाराबाट राष्ट्रलाई एकतावद्ध गर्ने प्रयास गरेका छौं । नेपाल मात्र होइन संसार भरी नयाँ सन्देश दिने जिम्मा तपाई हाम्रो काँधमा छ । यो जिम्मेवारी पुरा गर्न अगाडि बढौं ।’

kavre-072-11-18 (4)
सहिद परिवार सम्मान
kavre-072-11-18 (6)
सहिद परिवार सम्मान

kavre-072-11-18 (1)kavre-072-11-18 (2)

कात्तिक ७, २०८१ बुधबार २१:१२:२५