अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड

चितवन, २९ चैत – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठबन्धनको सरकारले अव ७० प्रतिशत प्राविधिक शिक्षा सञ्चालन गर्ने गरी नीति ल्याउने तयारी गरेको बताउनुभएको छ ।

चितवनको गुञ्जनगर माविको स्वर्णमहोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समृद्धिको पहिलो काम शिक्षाबाट सुरु गरिने बताउनुभयो ।

‘हाम्रो शिक्षा नीतिमा अहिलेसम्म प्राविधिकता, आफै रोजगारी सृष्टि गर्ने कुरा अत्यन्त कम ध्यान दिइएको छ, त्यसैले हामीले घोषणा पत्रमा के भनेका छौँ भने अव यो स्थितिलाई बदल्नु पर्छ’, उहाँले भन्नुभयो ‘अव कम्तीमा पनि ७० प्रतिशत कम्तीमा पनि प्राविधिक र व्यवसायी शिक्षा र ३० प्रतिशत जनरल एजुकेशन भयो भने देशभरि उद्योग धन्दा व्यवसाय रोजगारी सृष्टि गर्न सकिन्छ । पहिलो काम शिक्षाबाट सुरु गर्न सकिन्छ ।’

जनताको घरमा बेरोजगारी र विदेशमा गएर दुःख पाउने सन्त्रासमा बाँँच्ने शिक्षा नभई आम जनताको घर घरमा खुसी ल्याउने शिक्षा हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाई छ । ‘हाम्रा छोराछोरीले पढिसेकपछि तुरुन्तै व्यवसाय गरेर देशभित्रै समृद्धि ल्याउने शिक्षा नीति चाहियो । अहिले हामी शिक्षा मन्त्रालयमा र राजनीतिक दलसँग यही विषयमा कुरा गर्दै छौँ,’ उहाँले भन्नुभयो ।

अध्यक्ष प्रचण्डले कम्तीमा २० प्रतिशत लगानी शिक्षामा हुनुपर्ने भएपनि अहिलेसम्म हुन नसकेकोले अव शिक्षामा लगानी बढाउनुपर्ने बताउनुभयो । ‘शिक्षामा लगानी नबढाईकन देशको विकास र समृद्धिको कुरा गर्नु व्यर्थको कुरा हुन्छ ’, उहाँले भन्नुभयो ।

सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर बढाउनका लागि शिक्षकहरूलाई आवश्यक पर्ने न्यूनतम सुविधा दिनुपर्ने तर राम्रो काम नगर्नेलाई कडा कार्वाही गर्ने नीति राज्यले अवलम्बन गर्नुपर्ने उहाँको भनाई छ ।

‘शिक्षकहरूलाई आफ्नो भरणपोषण, परिवारको व्यवस्थापन गर्न मिल्ने, सक्ने जति सुविधा दिनुपर्छ, उनीहरूको इज्जत गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘राम्रो काम नगर्ने शिक्षकलाई  दण्डित गर्ने र कडा कार्वाही गर्ने प्रक्रिया पनि राज्यले अगाडी बढाउनुपर्छ , अनि मात्र सामुदायिक विद्यालयमा नयाँ उत्साह आउने छ भन्ने विषयमा हामी छलफल गर्दैछौँ । ’

अध्यक्ष प्रचण्डले अगाडी भन्नुभयो ‘बिस्तारै सामुदायिक विद्यालयमा पढ्नुभनेको गौरव, पढाउनु भनेको पनि इज्जत र प्रतिष्ठाको कुरा हुने र निजी विद्यालयमा पढाउनु भनेको फजुलखर्ची जस्तो हुने बनाउनुपर्छ । अनिमात्र समाजले सामाजिक न्यायशैलिको अग्रगति लिन सक्छ, हामीले कसैलाई कार्वही गरेर दण्डित गरेर हैन, यस्तो परिवेश बनाउनुप¥यो ।’

कात्तिक ७, २०८१ बुधबार १६:१३:४०