बाँदरमुढे घटनाका पीडितको समस्या समाधान गर्नु मेरो जिम्मेवारी हो : अध्यक्ष प्रचण्ड

काठमाडौं ३० चैत – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाँदरमुढेका जनताको समस्या समाधान गर्नु आफ्नो जिम्मेवारी भएको बताउनुभएको छ ।

चितवनको माडीमा बाँदरमुढे घटनाका पीडित सङ्गको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले पीडितका समस्या समाधान गर्नु आफ्नो कर्तव्य पनि भएको बताउनुभयो ।

‘तपाईँहरूको समस्या समाधान गर्ने मेरो कर्तव्य पनि हो जिम्मेवारी पनि हो’, उहाँले भन्नुभयो ‘द्धन्दको पीडितहरूलाई यो पटक परिचय पत्र समेत वितरण गरी समस्या समाधान गर्नेतिर हामी लागेका छौँ ।’

अध्यक्ष प्रचण्डले अगाडी भन्नुभयो – ‘सरकारले पूर्णता प्राप्त भएको करिब डेढ महिना मात्रै भएको छ,जेठ १५ गते नयाँ बजेटको तयारी हुन्छ, त्यो बजेटसम्म बाँदरमुढे घटना पीडितहरूलाई सम्बोधन गर्ने सङ्कल्प छ ।’

यसैबिच माडी नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले कृषि पर्यटनको हिसाबले माडिलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘माडी अब सरकारको प्राथमिकतामा हुन्छ । ठोरीबाट माडी, पश्चिम चितवनहुँदै केरुङसम्म बाटो बन्नेछ’, उहाँले भन्नुभयो ‘यसले सिङ्गो चितवनको अर्थतन्त्रमा प्रभाव पार्नेछ ।’

सुकुम्बासी समस्या समाधानका लागि तीन वटा विकल्प बनाएर काम सुरु गर्न लागिएको उहाँले बताउनु भयो । अध्यक्ष प्रचण्डले चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका जनताको समस्या समाधानका लागि पनि पहल गर्ने बताउनुभयो ।

‘निकुञ्ज नेपालकै गौरव हो, चितवनको पनि हो, माडीको पनि गौरव बन्नुपर्छ,’ उहाँले भन्नुभयो ‘तर निकुञ्जका कारणले गर्दा स्थानीयले भोग्नुपरेका समस्या पनि समाधान हुने र वन्यजन्तुको संरक्षणमा पनि समस्या नहुने गरी २०२९ सालको निकुञ्ज ऐन संशोधनका लागि हुनेछ ।’

शुक्रवार चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका प्रचण्डले बिहान माडी स्थित मत्स्य सङ्कलन केन्द्रको उद्धघाटन, सहिद पार्कको स्थलगत अवलोकन, दिवाकर रंगशालाको शिलन्यास रु प्रथम मेयर कप नकआउट फुटबल प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । त्यसैगरी माडी गुरुयोजना कार्यशाला गोष्ठीमा सहभागी हुनुभएका प्रचण्ड माडी नगरपालिकाका जनप्रतिनिधिहरुसंग भेटघाट, बाँदरमुढे पीडित समस्या समाधान समितिसंग भेटघाट, बाँदरझुला र सिमराका बाढीपीडित तथा निकुञ्जपीडितहरुसंग सुरक्षित बसोबासको विषयमा छलफल, नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन माडी नगर भेलालाई सम्बोधन र माडीका विषयगत सरकारी कार्यालय प्रमुखहरुसंग भेटघाट गर्नुभएको थियो ।

कात्तिक ७, २०८१ बुधबार १८:१५:१६