अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटद्वारा अध्यक्ष क. प्रचण्डसँग भेट

काठमाडौं, असार १४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच आज बिहान अध्यक्ष निवास लाजिम्पाटमा भेट भयो।

उक्त भेटका क्रममा अष्ट्रेलियन राजदुतले अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत गराउनु भयो । उहाँले आफु नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराउनु भयो ।

अध्यक्ष क. प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेको बारे आफु अवगत रहेको बताउनु भयो । वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको बताउनु भयो । अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि स्थगित गर्नु परेको बताउनु भयो । उहाँले उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने कुरा बताउनु भयो ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक विकासका बारेमा उहाँसँग चर्चा गर्नुभएको थियो । नेपालको राजनीतिक विकास प्रत्रिया विशिष्ट खालको रहेको अध्यक्षले जनाउनुभयो । संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहे को अध्यक्ष प्रचण्डले भेटका अवसरमा बताउनु भयो । वहाँले भन्नुभयो “यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ” साथै “अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।”

राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराउनु भयो । त्यसत्रममा अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायतका क्षेत्रमा सहयोगका लागि समेत धन्यवाद दिनुभयो ।

कात्तिक ९, २०८१ शुक्रबार ९:१९:६