अस्थीरता, भ्रष्टाचार र बिकृतिको जग संसदीय प्रणाली, ‘प्रचण्ड’

श्रावण २५, बुटवल । पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदीय प्रणालीले देशमा राजनीतिक अस्थीरता, भ्रष्टाचार, पछौटेपन र बिकृति निम्त्याएकाले त्यसले बिकल्प खोज्नुपर्ने बताउनु भएको छ ।
ने.क.पा. (माओवादी केन्द्र) का प्रदेश नं.–५ मा कार्यरत राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको प्रशिक्षणात्मक बैठकलाई सम्बोधन गर्न बुटवल पुग्नुभएका अध्यक्ष प्रचण्डले संसदीय प्रणाली नेपालको हावापानी र माटो सुहाउँदो नभएकाले बिकल्प खोज्नुपर्ने बताउनु भएको हो । प्रशिक्षणमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘देशमा जहिले पनि राजनीतिक अस्थीरता छ । संविधान निर्माणपछि देशले स्थीरता पाउँछ कि भन्ने जनचाहना पनि २ वर्षमा ३ वटा सरकारले तुहाइदिएको छ । कम्तिमा ५ वर्ष स्थीर सरकार नभएसम्म देश बन्दैन, राजनीतिक स्थीरता बिना आर्थिक समृद्धि र पछौटेपनको अन्त्य पनि सम्भव छैन । अस्थीरता, बिकृति, भ्रष्टाचार र पछौटेपनको मूल जग संसदीय प्रणाली नै हो । संसदीय शासकीय प्रणालीलाई फालेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखमा नगएसम्म देशको दुर्दशा अन्त्य हुँदैन ।’
नयाँ संविधानमा माओवादीको गन्ध र छाप भएकाले माओवादी कमजोर हुनेबित्तिकै त्यसलाई उल्टाउने प्रयास हुने उहाँले बताउनु भयो । प्रचण्डले भन्नुभयो, ‘कांग्रेस–एमालेहरु स्वेच्छाले गणतन्त्र मानेका होइनन्, संघीयता र समावेशी–समानुपातिक पनि ईच्छाले मानेका होइनन् । माओवादी र जनताको जबर्जस्त दवावले मान्न बाध्य भएका हुन् । माओवादी कमजोर हुनेबित्तिकै यसलाई उल्टाउन कोशिस हुन्छ । परिवर्तनको रक्षा गर्ने कि नगर्ने ? हामीले गम्भीर रुपमा सोच्नैपर्छ । जनताको बीचमा गएर जनतालाई व्यापक रुपमा प्रशिक्षित र संगठित गरेर मात्र यी सबै उपलब्धि जोगाउन सकिन्छ ।’
राष्ट्रवादका नाममा फासीवादको अभ्यास हुने थालेको भन्दै प्रचण्डले त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई अपील गर्नुभयो । उहाँले भन्नुभयो, ‘एकथरि मान्छेहरु राष्ट्रिय एकता र पहाडी राष्ट्रवादको कुरा गर्दैछन्, अर्कोथरि मान्छेहरु मधेशी राष्ट्रियताको कुरा गर्दैछन् । यी दुवै अतिवाद हुन् । मधेशीका विरुद्ध पहाडी र पहाडीका विरुद्ध मधेशी उभ्याउने र देशमा जातीय–क्षेत्रीय दङ्गा निम्त्याउन खोज्नेहरु राष्ट्रवादी हुनै सक्दैनन् । उनीहरु नश्लवादी हुन् र अन्तिममा त्यो हिटलरी फासीवादमा गएर पतन हुन्छ । हिमाल, पहाड र तराई–मधेशलाई जोड्नु, सम्पूर्ण जाति र क्षेत्रको पहिचान र समानताको अधिकार स्थापित गर्नु, आन्तरिक राष्ट्रियता सुदृढ गरेर देशको स्वाभिमान बलियो पार्नु मात्र असली अर्थमा राष्ट्रवाद हुन्छ । यो कुरा जनतालाई बुझाउन जरुरी छ ।’


‘गाउँपालिका जित्न कांग्रेस–एमालेले पाँच करोडसम्म खर्च गरे’
प्रशिक्षणमा अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन जित्न कांग्रेस–एमालेले एउटा गाउँपालिकामा पाँच करोडसम्म खर्च गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एउटा गाउँपालिका जित्न कांग्रेस–एमालेका उम्मेदवारहरुले पाँच करोडसम्म खर्च गरेको सूचना आएको छ । यस्तो बिकृतिले देश बन्दैन । अहिलेकै निर्वाचन प्रणाली कायमै रहे मध्यम वर्गले पनि चुनाव जित्न सक्दैन । मान्छे त इमान्दार र सक्षम छ । तर, उसँग करोडौं छैन भने चुनाव नजित्ने परिस्थिति आयो । यसले राजनीति तस्कर र दलालहरुको हातमा जान्छ । अनि, निर्वाचन जित्न जस्तोसुकै कूकर्म गर्ने संस्कारको विकास हुन्छ । यो भयावह चित्र देखेपछि यसको पनि बिकल्प खोज्नैपर्छ । अब पार्टीहरु बीच प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान आवश्यक छ ।’
प्रशिक्षणमा पार्टीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आगामी मंसीर महिनाभित्रै प्रदेश र संघीय निर्वाचन गर्नुपर्ने बताउँदै एकै चरणमा दुइवटा निर्वाचन सम्पन्न गर्नु राम्रो हुने बताउनु भयो । पार्टीका अर्का नेता रामबहादुर थापा ‘बादल’ले संगठनात्मक व्यवस्थापन गर्न सके माओवादी केन्द्र नै शक्तिशाली पार्टी हुने भन्दै त्यसका लागि जनताको घर–घरमा पुगेर संगठन बिस्तार गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रशिक्षणमा माओवादी केन्द्रका नेताहरु वर्षामान पुन ‘अनन्त’, कुलप्रसाद केसी, चक्रपाणि खनाल, जयपुरी घर्ति, डिलाराम आचार्य, तिलक परियार, गणेशमान पुन, रेखा शर्मा, कृष्णध्वज खड्का, पूर्णकुमारी सुवेदी कमला रोका लगायतका नेताहरु उपस्थित हुनुहुन्थ्यो भने प्रदेश नं.–५ अन्तर्गतका जिल्ला संयोजकहरुले जिल्लाको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो ।

 

कात्तिक ९, २०८१ शुक्रबार ८:१६:२३