माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आन्तरिकरूपमा केही प्राविधिक विषय मिलाउन नसक्दा वामपन्थी शक्तिहरूमा पहिलो हुने अवसर गुमेको भन्नुहुँदै उहाँले त्यसबाट र गठबन्धनका दलबीचको सहकार्यबाट समेत शिक्षा लिएर आगामी निर्वाचनमा झनै प्रतिबद्ध भएर लाग्न आव्हान गर्नुभयो ।
अध्यक्ष प्रचण्डले भन्नुभयो, “माओवादी कमजोर भयो वा जनतासँगको सम्बन्ध सुदृढ हुन सकेन भने जनयुद्धबाट प्राप्त भएको परिवर्तन उल्टन सक्छ । गत साल त्यस्तै खालको तितो र नमिठो अवस्थाको अनुभव गर्न पायौं । वामपन्थी र कम्युनिष्ट पार्टीको एकताबाट समृद्धिको सपना पूरा हुन्छ भन्ने देखेर प्रक्रिया अगाडि बढाइएको भए पनि चरम व्यक्तिवाद र अहंकारका कारण त्यो सफल नभएको बरु प्राप्त उपलब्धि विघटनमा पर्ने अवस्था देखियो ।”
उहाँले पार्टीको नीति र विधिविपरीत गएर व्यक्ति केन्द्रित गतिविधि नगर्नसमेत पार्टीका नेता तथा कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले निर्णय गरिसकेपछि त्यो व्यक्ति हुँदैन, पार्टी हुन्छ, त्यहाँ व्यक्ति हार्दैन, पार्टीले हार्छ। त्यो विषयलाई गम्भीरताका साथ लिन म सबैलाई आग्रह गर्दछु ।” माओवादी आन्दोलन वा कम्युनिष्टको सार्थक प्रयास नभएको भए संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक लोकतन्त्र पनि स्थापित हुन नसक्ने तथ्यलाई सबैले आत्मसात गरेको खण्डमा पोष्टबहादुर बोगटीप्रति सच्चा सम्मान हुने उहाँको भनाई छ ।
माओवादीकै जोडबलमा प्रतिनिधिसभाको विघटन तथा प्रतिगमनलाई सफल हुन नदिइएको र परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा गर्न सम्भव भएको बताउनुहुँदै अध्यक्षले भन्नुभयो, “माओवादी कमजोर भयो भनेको दिन परिवर्तनको रक्षा गर्न सकिँदैन। यो पार्टी बलियो हुनुपर्छ र समाजवादको आधार तयार पार्नुपर्छ ।”