आर्थिक क्रान्तिबाट पनि विश्वलाई नेपालको परिचय गराउनुपर्छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीतिक परिवर्तनबाट केही नयाँ पहिचान बनाएकाे उल्लेख गर्दै अब आर्थिक क्रान्तिबाट पनि त्यसरी नै विश्वलाई नेपालको परिचय गराउनुपर्ने बाँकी रहेकाे बताउनुभएकाे छ । उहाँले लाभका लागि मात्रै व्यवसाय नगरी सेवाभावले व्यवसाय गर्न उहाँले अपील गर्नुभयाे । नेपाल भित्रिने पर्यटकहरुसँग जोडिएको ट्रेकिङ क्षेत्रले विदेशीहरुसँग गर्ने व्यवहारले देशको परिचय दिने भएकोले सेवा र कर्मको भावनाले व्यवसाय गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाल ट्रेकिङ एशोसिएसन (टान)को ४१ औं वार्षिक साधारण सभा तथा निर्वाचनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले नेपालको पर्यटन क्षेत्र नेपालको कहिल्यै नसकिने प्रचुर सम्भावना भएको क्षेत्र भएको बताउनुभयाे ।

“यसको विकास इमान्दारी र पारदर्शी तरिकाले गर्न सके नेपाल समृद्ध बनाउन यसले योगदान दिन सक्छ ।” उहाँले भन्नुभयाे, “मन्त्रीले धेरै प्रतिबद्धता राख्नु भएको छ । यस्ता कार्यक्रममा यति स्पष्ट र भरोसायोग्य तरिकाले प्रतिवद्धता राखेको पहिलोचोटी देखेको छु । यसअर्थमा तपाईहरुले आशा राख्ने अवस्था पैदा भएको छ ।”

नेपाल भ्रमण वर्षको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई सधैं भ्रमण वर्षको रुपमा रहिराख्ने वातावारण बनाउन समेत अपीले गर्नुभयाे । त्यसका लागि आवश्यक पर्ने वातावारण बनाउने राज्यका तर्फबाट गर्नुपर्ने धेरै कुरा बाँकी रहेको कुरामा ध्यानाकर्षण भएको उहाँले बताउनुभयाे । नेकपा सचिवालय सदस्य तत्काल थप नहुने धेरै लामो मेहनत र संघर्षपछि देशमा नयाँ राजनीतिक परिस्थिति बनाएको उल्लेख गर्दै प्रचण्डले अब आर्थिक समृद्धिको नयाँ युगतिर लैजानुपर्नेमा जोड दिनुभयाे । “आर्थिक लोकतन्त्रको युगतिर जानका लागि नीजि क्षेत्रलाई सहकार्य र विश्वासमा लिएर प्रोत्साहित लिएर राज्य अगाडि बढन सकेन भने समृद्धिको सपना सपनामात्रै हुन्छ ।” उहाँको भनाई थियो ।

प्रचण्डले राज्यका तर्फबाट सकारात्मक र रचनात्मक ऐन, कानुन, नियम, व्यवस्था र तालिम सञ्चालन गर्न नसके लामो संघर्षपछिको उपलब्धि खतरामा पर्ने अवस्था आउनेमा सचेत गराए । उहाँले भन्नुभयाे, “यतिबेला राज्यको नेतृत्व र लोकतन्त्रका लागि योगदान दिने नीजि क्षेत्र मिलेर आर्थिक समृद्धिका लागि सकारात्मक वातावरणका लागि नयाँ अभियान बनाउनु जरुरी छ ।”
अध्यक्ष प्रचण्डले इतिहासमा राजनीतिक क्रान्ति र परिवर्तनपछि पराजित तत्वहरु कुनै न कुनै रुपमा छटपटिने र पुनर्स्थापनाका लागि प्रयासका रुपमा देखिने बताउनुभयाे ।

हामीले २०६३/०६४ सम्म आउँदा सम्पन्न गरेको जनक्रान्ति र त्यसपछि संविधानसभा हुँदै संविधानमा भएको सबै तहको समझदारी र सहकार्यबाट इतिहासमा केही कीर्तिमान कायम गरेको बताउँदै अध्यक्षले मानिसहरुले सामान्य र असम्भव ठानेका राजनीतिक परिवर्तन र शान्तिका, संविधान निर्माणका, लोकतान्त्रिक गणतन्त्रका मूलभुत मान्यतासहित अधिकार स्थापना गर्न सफलता पाएको उल्लेख गर्नभयाे ।

“तर यी सफलताको अन्तिम परिणाम आर्थिक समृद्धिमा गएर खोज्नुपर्छ ।” उहाँले अगाडि भन्नुभयाे, “आर्थिक प्रगतिको नयाँ युगतिर डोर्याउन सकिएन भने राजनीतिक परिवर्तन दिगो हुन सक्दैन । त्यो चुनौती र परीक्षा तपाई हामी सबैका अगाडि छ ।”

कात्तिक ८, २०८१ बिहीबार ७:३:१०