आर्थिक समृद्धिको यात्रालाई नयाँ गति दिने आधार खेलकुद क्षेत्र : अध्यक्ष प्रचण्ड (भिडियाे)

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएकाे छ । प्रथम प्रकाश दाहाल स्मृतिमा आयोजित प्रगतिशील युवा नेपाल कपको उद्घाटन गर्दै उहाँले देशमा गणतन्त्रको स्थापनासँगै खेलक्षेत्रको विकाशका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको पनि बताउनुभयाे।

Posted by क. प्रचण्ड / Comrade Prachanda on Tuesday, September 10, 2019

अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर खेलकुद क्षेत्रले विश्वलाई सन्देश दिएपनि राज्यले यस क्षेत्रको विकासका लागि उचित व्यवस्था गर्न नसकेको गुनासो खेलाडीहरूले पोखिरहेको उल्लेख गर्दै उहाँले राज्यले ढिलो चाँडो खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘तपाईंहरूलाई म विश्वास दिलाउन चाहँन्छु की ढिलो चाँडो तपाईंहरूलाई राज्यले सहयोग गर्छ। म त्यसको जिम्मेवारी लिन्छु।’

उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन समेत खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयाे। ‘राष्ट्र राष्ट्रहरुबीचको सम्बन्धलाई सुदृढ गर्ने, राष्ट्रको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्ने र आर्थिक समृद्धिको यात्रालाई पनि नयाँ गति दिने एक अनुशासित समाज निर्माणमा योगदान गर्ने महत्त्वपूर्ण आधार खेलकुद क्षेत्र बनेको छ। यसले कैयौँ राष्ट्रहरूलाई भावनात्मक र सांस्कृतिक रूपमा एकताबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ,’ अध्यक्षले भन्नुभयाे।

उहाँले आफू दोस्रो पटक प्रधानमन्त्री भएको समयमा भलिबल खेललाई राष्ट्रिय खेलको रूपमा घोषणा गर्न पाउँदा गर्व लागेको समेत बताउनुभयाे। ‘तराई, पहाड, हिमालमा सजिलै पहुँचमा पुर्‍याउन सकिने। युवाहरूले सजिलै जहाँ पनि खेल्न सक्ने खेलको रूपमा भलिबल नै हो। त्यस कारण भलिबललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेको छु। यसमा मलाई गर्वको महसुस भएको छ।’

युवाहरूको स्वास्थ्य, अनुशासन र भविष्यको आधारभूत पक्ष रूपमा र राष्ट्रको समृद्धि अनि समाज रूपान्तरणका लागि खेलकुद महत्त्वपूर्ण पक्ष भएकोले यस क्षेत्रलाई आफूले प्राथमिकता राखेको उहाँले बताउनुभयाे।

कात्तिक ८, २०८१ बिहीबार २३:८:५०