उत्तर कोरियाली राजदूतद्वारा अध्यक्ष प्रचण्डसँग भेट

काठमाडौं, १६ जेठ । नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूत किम योङ हकले आज बिहान अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । भेटमा अध्यक्ष प्रचण्डले राजदूत हक मार्फत भर्खरै सम्पन्न कोरियाली श्रमिक पार्टीको सातौं राष्ट्रिय काँग्रेसबाट निर्वाचित अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डर किम जोङ उनलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा बामपन्थी बाहुल्य रहेको सरकार भएको र आर्थिक विकास र जनताको पक्षमा काम गरिरहेको बताउनु भएको थियो । उहाँले गत सालको विनासकारी भूकम्प र संविधान निर्माण पछिको नाकाबन्दीले नेपाली जनताले निकै ठूलो दुःख पाएको बताउँदै  राष्ट्रले ठूलो आर्थिक क्षति ब्यहोर्नु परेको जानकारी दिनुभयो । अध्यक्षले भन्नुभयो, ‘अहिले हामीहरु भूकम्पले ध्वस्त संरचनाहरुको पुनर्निर्माण र आर्थिक विकासमा केन्द्रित छौं ।’

उक्त भेटवार्तामा राजदूत हकले नेपाल र कोरिया मिल्दा जुल्दा देश भएको बताउँदै दुई देशका धेरै विशषताहरु मिल्दा जुल्दा भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘साम्राज्यवादीको नाकाबन्दी भए तापनि किम जोङ उन र उहाँको नेतृत्वमा आम जनता एकतावद्ध  छ र हामी त्यसको सामना गर्न सक्छौं ।’ उहाँले राजनैतिक र सैनिक दुबै हिसावले आफूहरु शक्तिशाली रहेको पनि बताउनु भयो । उहाँले कोरियाली श्रमिक पार्टीका अध्यक्ष तथा जनसेनाका सर्वोच्च कमाण्डरले अध्यक्ष प्रचण्डलाई अभिवादन पठाउनु भएको पनि बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार ७:२०:२७