कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक छः अध्यक्ष प्रचण्ड (भिडियाे)

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताउनुभएको छ । आज बिहान भक्तपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्युत भई आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ आफैंले आफैंलाई सिद्धाउने रहेछन् ।’

उहाँले कम्युनिष्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन्, त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचलित हुने गरेको बताउनुभयो । उहाँले कम्युनिष्ट आदर्शको राजनीतिलाई फेरि एकपटक स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।

‘हिजो मृत्युलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने, तर शासन हातमा आएपछि अर्कै अर्कै, यो सबैभन्दा बढी २० औँ शताब्दीमा देखिएको थियो । कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पूँजीपति चाहिन्न। बन्दुक पनि चाहिन्न । आफैंले आफैंलाई सिध्याउने रहेछन,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार ०:५:४९