कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा बीचको बैठक सम्पन्न

बैशाख २६, काठमाडौं । प्रमूख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र र राजपाका नेताहरु बीचको बैठक मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटारमा सम्पन्न भएको छ ।
बैठकमा सरकारद्धारा संसदमा दर्ता गरेको संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको थियो । बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरु थप एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा राजपाका नेताहरुले संविधान संशोधन विद्येयक पारित गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गर्नुभएको थियो भने प्रमूख तीन राजनीतिक दलका नेताहरुले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर संघीय गठबन्धनमा आवद्ध दलहरुलाई पनि निर्वाचनमा ल्याउन आफूहरुले थप छलफल गर्ने बताउनु भएको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

कात्तिक ८, २०८१ बिहीबार १०:११:२४