‘कारबाही र पुरस्कृत गरेर नै पार्टीलाई क्रान्तिकारी बनाउन सकिन्छ’ (भिडियाे)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कारबाही र पुरस्कृत गरेर क्रान्तिकारी पार्टी निर्माण गरिने बताउनुभएको छ । पार्टीको उपत्यका विशेष प्रदेशद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले माओवादी केन्द्र देशको दोस्रो र बामपन्थी आन्दोलनको पहिलो शक्ति हुने स्थिति भएपनि ५० भन्दा बढी पालिका जनमत हुँदाहुँदै गुमाउनुपरेकोले तेस्रोमा खुम्च्याउनु परेको बताउनुभयो । उहाँले त्यसको निम्ति पार्टी भित्रको घात अन्तर्घातका कारण भएको उल्लेख गर्नुभयो । अध्यक्षले पार्टीलाई चुनावमा गम्भीर प्रकृतिको घात अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने स्पष्ट पनि गर्नुभयो ।

एक अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले भन्नुभयो, “सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्य अघि बढेको छ । सत्यनिरूपण सम्बन्धी गठबन्धन र त्यसका सबै पक्षमा सहमत भएर अघि बढेको छ । शान्ति प्रक्रिया नटुङियोस् भन्ने पक्ष पनि देखिए । हिजो गणतन्त्र सम्भव नै छैन भन्नेहरू अहिले पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु हुन्न भनेर अनेक चलखेल गरिरहेका छन् ।”

उहाँले संबिधान रक्षा र परिवर्तनका एजेन्डाहरुको आधारमा गठबन्धन बनेको बताउनुहुँदै प्रतिगमन परास्त नभएसम्म र नसुध्रिएसम्म गठबन्धनको विकल्प नखोजिने बताउनुभयो । अध्यक्षले माओवादी आन्दोलनबारे झुटा प्रचार गर्ने प्रवृति देखिएको भन्दै त्यसको सबैले प्रतिवाद गर्नुपर्ने पनि धारणा राख्नुभयो ।

 

वैवाहिक अंगिकृतलाई ७ वर्षे प्रावधान माओवादीले ल्याएको प्रस्ताव भएको उल्लेख गर्दै अध्यक्षले भन्नुभयो, “शशी श्रष्ठको नेतृत्वको समितिले वैवाहित अंगिकृतवाला प्रतिवेदन बनाएको भएपनि ओलीले छ महिनासम्म अड्काएर पास गर्न दिएनन् । अहिले आएको विधेयक र केपी ओलीले संसद विघटन गरेर ल्याएको विधयेक एउटै भएको भएपनि ओलीले अहिले नागरिकता विधयेकबारे नौटकी गरेको गरेका छन् ।”

कात्तिक ६, २०८१ बुधबार ४:४:०