‘सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ’ (भिडियाे)

कर्णाली । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिने बताउनुभएको छ । माओवादी केन्द्र कर्णाली प्रदेश समितिद्वारा सुर्खेतमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधनका लागि सुर्खेत आइपुग्नुभएका अध्यक्षले विमानस्थलमा पत्रकारहरूसँगको भेटघाटमा यस्तो बताउनुभएको हो ।

अध्यक्षले सो अवसरमा गठबन्धनमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटको सहमति नजिक पुगिएको बताउनुभयो । अध्यक्षले गठबन्धन दलभित्र कुनै असहमति नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर नेकपा (एमाले)सँग तालमेलको कुनै सम्भावना छैन ।

पत्रकार भेटघाटका क्रममा अध्यक्षले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा चितवन–३ बाटै चुनाव लड्ने बताउनुभयो । नेकपा (एकीकृत समाजवादी)सँग एकताका लागि प्रयास भइरहेको उहाँको भनाइ थियो । निर्वाचनमा एउटै घोषणापत्र ल्याउन पहल भएको तर चुनाव चिह्न भने आ–आफ्नै हुने अध्यक्षले बताउनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ६:२५:५९