कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धि सम्भव : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट मात्रै आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात गर्न सम्भव हुने बताउनु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि मेलाको शनिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

‘हामीले नेपालमा कृषिको विविधिकरण, आधुनिकीकरण, विज्ञान र प्रविधिको यसमा सदुपयोग गरेर तीन करोड होइन, दस करोडलाई खान पुग्ने उत्पादन गर्न सकिने तागत नेपालको जमिनमा छ, नेपाली किसानहरुमा छ’ उहाँले भन्नुभयो, ‘जबसम्म कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने कुरा अगाडि बढ्दैन, बेरोजगारीको समस्याको समाधान पनि हुँदैन । कृषिमा आधारित अर्थतन्त्र र कृषिमा आधारित उद्योगले मात्रै हामीले नेपालको आर्थिक क्रान्ति वा आर्थिक समृद्धिको नयाँ युगको सूत्रपात गर्न सम्भव छ ।’

अध्यक्ष प्रचण्डले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नेपालको विशिष्ट, उत्कृष्ट र दक्षिण एसियाको नमुना विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ संकल्पका साथ उत्पादन वृद्धि र रोजगारी सृष्टिको साथ नयाँ अभियानका रुपमा अगाडि लैजान जरुरी छ ।’ सरकारले आफ्नो नीति तथा कार्यक्रमबाट कृषिमा सुधारका काम गरिरहेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना त्यसको एउटा उदाहरण भएको उहाँको भनाइ थियो ।

‘हिजो मैले कृषिमा स्नातक गर्दा यही अगाडिको कलेजबाट गरेँ । दस कठ्ठामा धानखेती गरेको थिएँ । मैले ट्याक्टर चलाउन सिकेको यही कृषि कलेजमा हो । सामान्य किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नु पर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ’ पुराना दिन सम्झँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संविधान सभाको निर्वाचनपछि प्रधानमन्त्री बनेपछि मलाई रामपुर क्याम्पसलाई कृषि विश्वविद्यालय बनाउनु पर्छ भन्ने सोच आयो । समाजवाद हुनको लागि पर्याप्त उत्पादन र रोजगारी हुनु पर्छ । विज्ञान र प्रविधिको उच्च प्रयोग हुनु पर्छ । कृषिमा क्रान्तिकारी तरिकाले भिन्न इजरायल, कृषिमा प्रविधिको प्रयोगमा अगाडि रहेका चीन र भारतबाट हामीले सिक्नु पर्छ । कृषिमा आधुनिकीकरण गर्नु पर्छ । चक्लाबन्दीद्वारा सामुहिक खेती प्रणालीको आफ्नै मोडालिटीको विकास गर्न सकिन्छ ।’

राजनीतिक नेतृत्वको हैसियतले र यहाँ पढेको विद्यार्थी भएको नाताले कृषिमा क्रान्ति ल्याउने आकांक्षा लिएर अगाडि बढ्न जरुरी रहेको अध्यक्ष प्रचण्डले बताउनु भयो । ‘यो विश्वविद्यालयको विकास हामी सबैको संकल्पलेमात्र सम्भव छ’ उहाँले भन्नुभयो, ‘जसका लागि योजनावद्ध ढंगले हामी अगाडि बढ्नेछौं ।’

अध्यक्ष प्रचण्डले कार्यक्रममा सम्मानित कृषकहरुलाई बधाई दिँदै कृषि मेलाको सफलताको शुभकामना दिनुभयो । शनिबारदेखि सुरु भएको मेला मंगलबार समापन हुनेछ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक कृषि लाको आयोजना गरेको हो ।

कात्तिक ८, २०८१ शुक्रबार ४:१५:३६