कृषिमा आधारित उद्योग मेरो चाहनाः अध्यक्ष प्रचण्ड (भिडियाेसहित)

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफ्नो चाहाना कृषिमा आधारित उद्योग खोल्ने रहेको बताउनु भएको छ । प्रचण्डले भन्नुभयो, ‘मेरो चाहना उद्योग मात्रै नभएर कृषिमा आधारित उद्योग खोल्नुपर्छ भन्ने हो ।’

प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास योजना बनाउनु पर्ने धारणा राख्नुभयो ।

चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको उहाँको भनाई थियो । प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने छ ।’

चितवन शिक्षा र स्वास्थ्यको हब हुन सक्ने भन्दै उनले आफूले यससँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिकता दिइरहेको बताउनु भयो । अध्यक्षले खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्ने धारणा खाख्नु भयो ।

विश्वमा नै कृषि क्षेत्रमा ख्याती कमाएको देश इजरायलसँग सहकार्य गरेर एकीकृत कृषि प्रणाली सुरु गरिने विचार बताउँदै नेपालका १५ ठाउँ र सोमध्ये चितवनको एक ठाउँमा नमूना कृषि क्षेत्र बनाउने विषयमा इजरायलसँग छलफल भइरहेको पनि जानकारी दिनुभयो ।

त्यसैगरी छिमेकी मुलुक चीनबाट आएका व्यावसायीहरुको टोलीसँग मंगलबार साँझ चितवनमा उद्योग खोल्ने विषयमा छलफल भएको बताउनु भयो । जिल्लामा स्टिल, फलाम, कपडा, चप्पलजस्ता २५ वटा उद्योग खोल्न चिनियाँ टोली सकारात्मक रहेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

उहाँले निर्वाचनको समयमा आफूले गरेका प्रतिबद्धता पूरा गर्न लागिरहेको भन्दै आउँदो वर्षमा नै निकुञ्जमाथिबाट माडी जोड्ने आकाशे पुलको कामको प्रक्रिया सुरु गर्ने, नारायणीमा पुल बनाउन र पूरक बजेटमार्फत नै यही आर्थिक वर्षमा केही सडक, ढल, तटबन्धलगायतका काम गर्ने तयारी भइरहेको बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार २२:३:२८