पार्टी एकता जनताको साझा सम्पति होः अध्यक्ष प्रचण्ड

रौतहट, १३ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताउनु भएको छ । बिहिवार रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौति पनि छ ।’

अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताउनु भयो । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै अध्यक्षले भन्नुभयो, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’

शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाई थियो ।

अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गर्नुभयो ।

अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उहाँको धारणा थियो ।

कात्तिक ७, २०८१ बिहीबार ०:२२:५८