‘क्रान्तिको सफलता अघि बढ्ने र पछि हट्ने गरेर मात्र हुन्छ ’

धनगढी (कैलाली), २९ जेठ । अध्यक्ष प्रचण्डले क्रान्तिको सफलता अघि बढेर मात्र होइन अघि बढ्ने र पछि हट्ने गरेर मात्र हुने बताउनु भएको छ । शनिवार कैलालीको धनगढीमा आयोजित ७ नं. प्रदेश स्तरीय एकता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘पार्टी एकता ऐतिहासिक जगमा खडा छ । नयाँ विचारको संश्लेषण बाँकी कार्यभार पुरा गर्ने, विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिन सहिद बेपत्ता घाइते योद्धाहरुको सपना पुरा गर्न र जनताको चाहना पुरा गर्नेमा आधारित छ ।’

अध्यक्ष प्रचण्डले माओवादी पार्टीहरु बीचको यो एकताले ऐतिहासिक अवसर र ठूलो जोखिम पनि बोकेर आएको बताउनु भयो । उहाँले अगाडि बताउनु भयो, ‘विश्वलाई एउटा नयाँ कम्युनिष्ट घोषणापत्र चाहिएको छ । यो दशक एकता र समाजवादी क्रान्तिको दशक हुनेछ । हामी बीचको विभाजन हाम्रो नियतिले भएको होइन यो नियम नै थियो । हामी विभाजनको अनुभव र सबै खालका चुनौतिका साथ एकता कायम गरेका छौं । हामी माओवादी आफैं चुनौति दिँदै हिँड्ने मानिस हौं । यो नै निरन्तर क्रान्ति हो । राष्ट्रिय एकता, राष्ट्रियताको रक्षा, संविधानमा लेखिएका राम्रा कुराको कार्यान्वयन आदिको निम्ति पनि माओवादीहरुको एकता जरुरी थियो । यो एकता निषेधको निषेध हो । हिजोका हाम्रा आफ्ना समुहहरुलाई निषेध गरेर नयाँ पार्टी निर्माण गरेका छौं । हामी एकता संघर्ष विभाजन र फेरि एकता संघर्ष र फेरि नयाँ आधारमा नयाँ एकताको प्रक्रियाबाट यो नयाँ पार्टी बनेको छ । राष्ट्र अप्ठ्यारोमा परेको बेला सबै माओवादी एक भैदिए हुन्थ्यो भन्ने चेतना आम जनता, वुद्धिजीवि कर्मचारी, सेना, प्रहरी सबैमा बिकास हुँदै गयो । किरणजी अहिले एकतामा आउन नसक्नु विचारका कारणले नै हो । तर हाम्रो प्रयास जारी रहने छ । बाबुरामजीलाई पार्टीमा रोक्न सकिएन । उहाँ अलग हुनुभयो । यो पनि बैचारिक कारण नै हो । उहाँ कम्युनिष्ट आन्दोलनबाट धेरै टाढा पुगि सक्नुभयो । विचार र भावना बीचमा मिल्ने नै एकताको प्रक्रियामा आएका छौं । यो एकताको रणनीतिक महत्व बुझ्नै पर्दछ ।’

कात्तिक ८, २०८१ बिहीबार १३:९:६