गठबन्धन अहिलेको आवश्यकता हो, कसैले दायाँबायाँ गर्नुहुन्नः अध्यक्ष प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन अहिलेको आवश्यकता भएको बताउनुभएको छ । उहाँले प्रतिगमनकारी शक्तिसँग लडिरहेको गठबन्धन भविष्यमा पनि निरन्तर रहिरने भन्दै स्थानीय तह चुनावमा कसैले दायाँबायाँ गर्न नहुने बताउनुभयो।

चितवनको भरतपुर हाकिमचोकस्थित साझा बसपार्कमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा सम्बोधनका क्रममा उहाँले कांग्रेस र माओवादी केन्द्रको सहकार्य अहिलेको मात्रै नभई २०४६ सालदेखि शान्ति सम्झौता हुँदै अहिलेसम्म कुनै न कुनै रुपमा जारी भएकाले अहिले हँसिया हतौडामा भोट दिन आनाकानी गर्नु जरुरी नभएको बताउनु भयो । उहाँले यदि रुखवालाले हँसिया हतौडामा र हसिया हतौडावालाले रुखमा भोट हाल्न नमान्ने हो भने देश दुर्घटनामा जान सक्नेतर्फ विचार गर्न अपिल पनि गर्नुभयो ।

चितवनमा रहेका प्रचण्डले स्थानीय तहमा भएको गठबन्धनअनुसार भोट हाल्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादीले काँग्रेसलाई पनि भोट हाल्नुपर्छ । काँग्रेसले माओवादी होस् वा समाजवादी जसपा आवश्यकताअनुसार मत हाल्नुपर्छ । हामी एक भएर प्रतिगमनलाई हराउनु पर्छ ।’

अध्यक्ष प्रचण्डले गठबन्धनलाई सशक्त बनाउन काँग्रेसले भरतपुरमा माओवादीका उम्मेदवारलाई भोट हाल्न काँग्रेस इमान्दार रहेको उल्लेख गर्दै गठबन्धनले नै २० वर्षसम्म देश चलाउने योजनासहित अघि बढेको बताउनुभयो ।

कात्तिक ६, २०८१ बुधबार १:५:२६