गणतन्त्र, संघीयता, समावेशी–समानुपातिक र धार्मिक स्वतन्त्रता संविधानका चार खम्बाः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, समावेशी–समानुपातिक व्यवस्था र धार्मिक स्वतन्त्रता संविधानका चार खम्बा भएकाे बताउनु भएकाे छ । बिहीबार लुम्बिनीमा सातौं राष्ट्रिय लुम्बिनी महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयाे, ‘यी चार एक–अर्कासँग अन्तरसम्बन्धित छन् । एउटा ढल्दा अरु तीनवटा पनि बाँकी रहँदैनन् ।’

अध्यक्षले अाफूहरूले संविधानमा सनातनदेखि चल्दै आएको संस्कृति संरक्षणको कुरा गरेकाे बताउनुहुँदै धार्मिक स्वतन्त्रताको सम्मान गरिएको स्पष्ट पार्नुभयाे । उहाँले राज्यले धर्मका आधारमा कसैलाई काखा र कसैलाई पाखा नगरोस् भन्ने व्यवस्था गरिएको बताउनुभयाे । ‘हाम्रो संविधान मौलिक र सन्तुलित छ । त्यसैले कोही पनि शक्ति यो संविधान उल्टाउनेतिर सोच्न जरुरी छैन’ उहाँकाे भनार्इ थियाे ।

अध्यक्ष प्रचण्डले अहिलेको वामपन्थी सरकारबाहेक कसैले पनि राजनीतिक स्थिरता दिन नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सरकारले धेरै गर्न सकेन होला । तर, यसको विकल्प अरु हुन सक्दैन । हिजोको जस्तै देशलाई द्धन्द्धमा फर्काउने कसैले सोचेको छ भने त्यो आत्मघाती सोचाइ हो । त्यतातिर सोचेर टाउको नदुखाउँदा हुन्छ ।’

कात्तिक ७, २०८१ बुधबार १३:२:१७