गणतान्त्रिक इतिहासको नयाँ संश्लेषण जरुरी छ, ‘प्रचण्ड’

कार्तिक ९, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २००७ सालयता नेपाली राजनीतिमा गुणात्मक परिवर्तन आएको बताउँदै गणतन्त्रसम्मको नेपाली इतिहासलाई नयाँ ढंगले संश्लेषण गर्नुपर्ने बताउनु भएको छ ।
बिहीबार दिउँसो बामपन्थी बुद्धिजीवी लक्ष्मण पन्तद्वारा लिखित ‘आधुनिक नेपालको इतिहास’ नामक पुस्तकको बिमोचन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘इतिहासका निर्माता जनता नै हुन् । इतिहासको लेखन र विश्लेषणमा आदर्शवादी र भौतिकवादी धारा एवं दृष्टिकोण रहँदै आएका छन् । नेपालको इतिहासका अधिकांश रचनाहरु भाववादी र आदर्शवादी धाराद्वारा प्रेरित भएर लेखिएका छन् । २००७ सालयता नेपाली राजनीतिमा गुणात्मक परिवर्तन आएको छ । २५० वर्ष लामो शाहवंशीय सत्ता र करीब १८०० वर्ष पुरानो राजतन्त्रको अन्त्य हुनु सामान्य विषय होइन । यसबारे थप अध्ययन, विश्लेषण र संश्लेषण आवश्यक छ ।’
बिमोचन कार्यक्रममा सामयिक राजनीतिबारे बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मतपत्र एउटै छ भनेर चर्चा चलेको छ, त्यो सत्य होइन, खाली प्राबिधिक सजिलोका लागि सर्वदलीय सहमतिमै एउटै सीटमा दुईवटा मतपत्र बनाउन लागिएको हो । मत पत्रसम्बन्धी एउटा समझदारी बनाएर हामीले आयोगसँग आग्रह गरेका हौं । त्यसअनुसार मतपत्र तयार भएका छन्, यहाँ एउटा मतपत्र कि दुईवटा भनेजस्तो गरिकन विवाद गर्न खोजिएको छ, मतपत्र दुईटै छन् । प्रदेशको र केन्द्रको अलग्गै मतपत्र छ । तसर्थ, मतपत्र र तयारीलाई देखाएर निर्वाचन रोक्ने कुनै पनि प्रयत्न हाम्रा लागि मान्य हुन सक्दैन ।’
निर्वाचन प्रयोजनका लागि संसदको म्याद सकिए पनि निर्वाचन रोकिएको परिस्थितिमा संसदको आयु माघ ७ गतेसम्म रहेको प्रचण्डले बताउनु भयो । कार्यक्रममा लेखक तथा एमालेका सचिव प्रदीप ज्ञवाली, कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा लगायतका वक्ताहरुले लेखक पन्तको पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो ।

कात्तिक ६, २०८१ बुधबार ५:१६:०