घाइते पूर्व-जनमुक्ति सेना भेट्न अध्यक्ष प्रचण्ड वीर अस्पतालमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनयुद्धका घाइते पूर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुग्नुभएको छ । स्वास्थ्यमा समस्या देखिएपछि राना वीर अस्पताल भर्ना हुनुभएको हो ।
अध्यक्ष प्रचण्डले उहाँको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग परामर्श गर्नुका साथै आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

भेटको क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमि हुन नदिने, ७ बर्षको बच्चाको पढाई र श्रीमतिको रोजगारीको लागि पहल गर्ने बताउनुभयो । यस्तो गम्भीर अवस्थामा पनि भक्त र उहाँको परिवारको पार्टी र नेतृत्वप्रतिको दृढ विश्वासले हामीलाई समेत प्रेरित गरेको उहाँले बताउनुभयो । राना काभ्रेको महाभारत गाउँपालिका निवासी हुनुहुन्छ।

बागमती गाउँपालिका–४ ९साविकको फापरबारी–१० झुरझुरेमा २०६२ माघ ८ को साँझ ६ बजेदेखि तत्कालीन शाही नेपाली सेना र विद्रोही माओवादीबीच भिडन्त सुरु हुँदा उहाँ घाइते हुनुभएको थियो । झन्डै १२ घण्टासम्म चलेको भिडन्तमा ३ सर्वसाधारणसहित ३९ जनाको मृत्यु भएको थियो । ५० जनाभन्दा बढी घाइते भएका थिए। घाइतेपछि उनलाई सहयोद्धा साथी र जनसेनाको प्राथमिक उपचार टोलीले सामान्य उपचार गरेको थियो ।

टाउकोमा गोलीका छर्रा भएको मगरले विभिन्न अस्पतालमा उपचार गराउनुभयो । उपचारपश्चात दुखाइ र हिँडाइमा केही सहज त भयो तर टाउकोमा रहेको गोली छर्रा भने निकालिएन। बाहिरी अंगको चोट ठिक भएपनि शरिरमा रहेका गोलीका छर्राले उहाँलाई सधै दुःख दिइरह्यो ।

उक्त गोलीका छर्राको कारणले विगत ५ बर्ष पहिला देखि नै उहाँको बोल्न सक्ने अवस्थामा छैन। त्यसैको असर विस्तारै शरिरमा हुँदै गए पछि हाल उहाँको दुईवटै खुट्टाको अपरेसन गरि वीर हस्पिटलमा उपचार भइरहेको छ । रानालाई प्यारालाइसिस भएपछि उहाको खुट्टा काट्नु परेको थियो । आर्थिक अवस्था कमजोर भएका ३३ वर्षीय रानाको टाउकोमा लागेका गोलीका छर्रा भने अहिलेसम्म निकाल्न सकिएको छैन ।

कात्तिक ७, २०८१ बुधबार २१:१५:५१