जनता र संचार क्षेत्रबीच द्वन्द्वात्मक सम्वन्ध : अध्यक्ष प्रचण्ड

दोलखा, २ चैत । अध्यक्ष प्रचण्डले  संचार र जनताको सामाजिक सम्बन्धहरुको बीचमा द्वन्द्वात्मक सम्बन्ध हुने बताउनु भएको छ । आज बिहान दोलखामा आयोजित हाम्रो रेडियो १०३ थोप्लो ४ मेघाहर्जको नवौं वार्षिकोत्षव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । अध्यक्षले जनतामा बढ्दै गएको राष्ट्रिय जागरण अथवा राजनीतिक चेतनाले संचारलाई अघि बढ्न धेरै प्रेरित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतामा जति धेरै आफ्नो हक अधिकारप्रति सचेतना बढ्दै जान्छ  संचार क्षेत्रप्रतिको आकर्षण त्यतिकै मात्रामा बढ्छ र यस क्षेत्रको विकास पनि त्यतिकै हुन्छ । त्यसैगरी संचारले जति प्रभावकारी भूमिका खेल्छ, जनतामा पनि त्यति नै राष्ट्रिय जागरण र राष्ट्रिय स्वाभिमान प्रतिको जागरुकता त्यति नै बढ्छ ।’

एकअर्को प्रसंगमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको चैतको पहिलो सातादेखि हुन लागेको चीन भ्रमणमा नेपालको पारवहन सम्बन्धी महत्वपूर्ण छलफल हुने बताउनु भयो । प्रचण्डले असोज ३ गते जारी भएको संविधान गतिशील र परिवर्तनकारी रहेको बताउनु भयो ।

दोलखाबाट सुरु गरिएको पुननिर्माणको काम सुरु भएपनि भूकम्पपीडित जनताले राहतमा जटिलता पाएको अध्यक्ष प्रचण्डले बताउनु भयो । लालपुर्जा राखेर राहत लिनुपर्ने झन्झटकारी व्यवस्थालाई परिवर्तन गर्न आवश्यक भएको उहाँले बताउनु भयो । साथै उनले काठमाडौ फर्किए लगत्तै राहत तथा पुननिर्माण कार्यविधिलाई संसोधन गरेर जनतालाई छिटो भन्दा छिटो राहत पुर्याउन लागिपर्ने प्रचण्डले बताउनु भयो । अध्यक्षले दोलखाका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण पनि दिनुभएको थियो । उहाँले २ वर्षमा पार्टीलाई नं.१ पार्टी बनाउन कार्यकर्ताहरुलाई सक्रिय रुपमा जनताका बीचमा फैलिन निर्देशन पनि दिनुभयो ।

कात्तिक ८, २०८१ शुक्रबार ०:१४:३७