जनताको आस्थालाई सम्मान गर्नुपर्छः अध्यक्ष प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनताको आस्थालाई सम्मान गर्नुपर्ने बताउनु भएको छ । गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिक र नेता विश्वप्रकाश सुवेदीकी ममतामयी आमा धनकुमारी सुवेदीको श्रद्धाञ्जली सभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उपचार अभावमा बिरामीको मृत्युवरण भए राज्य दण्डित हुनुपर्ने व्यवस्था संविधानले गरेको बताउनु भयो । उहाँले उपचार नपाएर अब कोही पनि मर्नु नपर्ने बताउनुभयो ।

नेकपा अध्यक्ष प्रचण्डले धर्म र आस्थाका आधारमा कसैलाई पनि भेदभाव गर्ने नीति लिन नहुने बताउनु भयो । ‘जनताको आस्थालाई अपमान गर्ने कसैको मन्यता होइन’ उहाँले भन्नुभयो, ‘जनताको आस्थालाई सम्मान गर्नुपर्छ । राज्य विविध आस्थाप्रति निरपेक्ष रहनु पर्छ । यो लोकतन्त्रको आधारभूत कुरा हो ।’

अध्यक्ष प्रचण्डले सरकारले बढी नै मिहिनेत गरेर गत असोजमा मौलिक अधिकारसम्बन्धी ऐन बनाएको जानकारी दिनुभयो । ‘सरकारले यो ऐन बनाउन सक्छ कि सक्दैन भन्ने एउटा प्रश्न थियो’ उहाँले भन्नुभयो, ‘संविधानले शिक्षा, स्वास्थ्य र रोगजारीलाई जनताको मौलिक अधिकारमा परिभाषित गर्नु ठूलो विषय हो । शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी सरकारले गर्नु पर्ने ऐनमा उल्लेख छ ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समाजमा बुढेसकालका मानिसको व्यवस्थापन चुनौती बन्दै गएको बताउनु भयो । नेपाली कांग्र्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा नेताहरु सूर्य सुवेदी पथिक, ईश्वरी भट्टराई र कृष्ण खनाल लगायतले बोल्नु भएको थियो ।

७५ बर्षको उमेरमा धनकुमारी सुवेदीको क्यान्सरका कारण निधन भएको थियो । सुवेदीको श्रीमान्, दुई छोरा र तीन छोरी हुनुहुन्छ । उहाँको निधन भएको १२ औँं दिनको पुण्यतिथिमा मंगलबार श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

कात्तिक ७, २०८१ बुधबार १९:१७:११