‘जनताको कुनै पनि गुनासो सुनिएन भन्ने सुन्न नपरोस्’– अध्यक्ष प्रचण्ड

चितवन क्षेत्र नं. ३ मा अध्यक्ष प्रचण्डको सम्पर्क कार्यालय स्थापना

भरतपुर, फागुन १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताका हरेक समस्याको समाधानमा लाग्न निर्देशन दिनुभएको छ ।

भरतपुर महानगरपालिकाको हाकिमचोकमा स्थापना गरिएको क्षेत्र नं. ३ को सम्पर्क कार्यालयको उदघाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले सबैको ध्यान क्षेत्र नं. ३ र चितवनको विकास र सुशासनमा केन्द्रीत रहेकोले जनताका घरघरमा हुने दुख र सुखमा साथ दिन निर्देशन दिनुभएको हो ।

“ प्रचण्डले निर्वाचन जितेको क्षेत्र र सिँगो चितवनमा सुशासन, जनताका दैनिक समस्याको समाधान तथा
साना ठूला विकास कसरी काम हुन्छ भन्ने कुरा सिँगो राष्ट्र र विश्वले हेरेको हुन्छ । लोकतान्त्रिक गणतन्त्रको नेतृत्वले पहिलोपटक निर्वाचन लडेर यहाँ सुसशान र समस्या समाधान गर्न कस्तो विधि प्रणाली स्थापित गर्छ भन्ने सबैले हेरेको हुन्छ ।” अध्यक्षले भन्नुभयो, “त्यसैले सम्पर्क कार्यालयले जनताका घरघरमा हुने समस्या, गुनासा सुन्ने र तिनको समाधान पहिल्याउने भूमिका निर्वाह गर्न सकोस भनेर कार्यालय स्थापना गरिएको हो”

विकास निर्माण, सुशासन र जनसरोकारका कामहरु योजनाबद्धरुपमा अघि बढाउन जनसम्पर्क कार्यालयको आवश्यकता बोध गरेर स्थापना गरिएको बताउनुहुँदै अध्यक्ष प्रचण्डले जनताका समस्या समाधानमा संस्थागत प्रयास गर्ने अवसरलाई उपयोग गर्न सम्पर्क कार्यालयले भूमिका खेल्ने बताउनुभयो । अध्यक्षले भन्नुभयो, “जनताका गुनासा केन्द्रीत गर्ने सुख, दुखमा जनतासँग प्रत्यक्ष जोडिने काम यो कार्यालयमार्फत हुने छ । हरेक घरघरमा हुने समस्या के छन ? कतिबेला दुख पर्छ, कतिबेला सुखका कुरा आउँछन, त्यतिबेला पार्टी र सांसदलाई जोडने पुलको रुपमा कार्यालयका कमरेडहरु भूमिका खेल्नुपर्ने हुन्छ । जनताको कुनै पनि गुनासो सुनिएन भन्ने गुनासो नआओस् ।”

अध्यक्ष प्रचण्डले जनताका सबै गुनासा तदारुकताका साथ आफू कहाँ पुरयाउन, र, स्थानीयस्तरबाट समाधान हुनसक्ने विषय सोझै हल गर्न समेत निर्देशन दिनुभयो ।

कात्तिक ७, २०८१ बुधबार ६:१६:५२