‘जनतामा माओवादी पार्टी र नेतृत्वप्रतिको भरोसा र विश्वास टुटेको छैन’ (भिडियो)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र वा बाहिर रहेका जनतामा माओवादी पार्टी तथा नेतृत्वप्रतिको भरोसा र विश्वास नटुटेको आफूले पाएको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौँ वार्षिक साधारण सभामा उहाँले भन्नुभयो, “पार्टीले विगतमा खेलेको भूमिकाका बारेमा जनतामा अगाध आस्था र विश्वास रहेको छ । कहीँ समस्या छ भने त्यो नेतामा छ, नेताको एउटा पङ्क्तिमा व्यवहार र विचार तथा नीति र नेतृत्वप्रतिको विश्वास धर्मराएको छ ।”

उहाँले अगाडि भन्नुभयो, “नेताहरू एक ढिक्का भएर जाने हो भने मुलुकमा फेरि पनि माओवादीले नेतृत्व गर्ने अवस्था आउँछ ।”जनमतलाई जोडेर अगाडि बढेको अवस्थामा माओवादी फेरि देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने अध्यक्षको धारणा थियो ।

सबैलाई पुनः एकतावद्ध बनाएर तथा विचार र मुद्दामा निकट भएका व्यक्तिसमूहलाई सँगै लिएर जानुछ, संविधान र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनलाई अगाडि बढाउनुछ,’ उहाँले भन्नुभयो, ‘वामपन्थी विचारलाई एक ठाउँमा केन्द्रित गर्ने रणनीतिका साथ अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पनि माओवादीप्रति अहिले देखिएको आकर्षणलाई बचाउन सक्नुपर्ने अध्यक्षको भनाइ थियो । पछिल्लो समय विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने लहर नै चलेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो पार्टी बन्ने बताउनुभयो । ‘अहिले फेरि पूर्वमाओवादी र अन्य कम्युनिष्ट घटकबाट माओवादीमा आउने लहर चलेको छ,’ उहाँले भन्नुभयो, ‘माओवादीप्रतिको आकर्षणलाई बचाउन सकियो भने वामपन्थीतर्फ पहिलो पार्टी बन्ने सम्भावना छ ।’

कात्तिक ८, २०८१ बिहीबार ७:५९:४३