जर्मन वामपन्थी पार्टी प्रतिनिधिद्वारा अध्यक्षसंग भेट

काठमाडौ, १० चैत ।  जर्मन वामपन्थी पार्टीका प्रतिनिधिले अध्यक्ष प्रचण्डलाई आज विहान भेट गरेको छ । निवास लाजिम्पाटमा भएको भेटमा अध्यक्षले नेपालमा नेपाली आफैंले शान्ति प्रक्रिया र संविधान निर्माण गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालमा शान्ति प्रक्रिया र संविधान निर्माणमा विल्कुलै नौला उदाहरणहरु प्रस्तुत भएका छन् । जनयुद्ध, शान्ति प्रक्रिया, संविधान सभाको निर्वाचन पश्चात पहिलो गणतान्त्रिक सरकारको नेतृत्व, सेना समायोजन र संविधान सभाबाट नयाँ संविधान निर्माण नेपाली जनताले अनुभूत गरेका नौला अनुभूति हुन् ।’ उहाँले नेपाली जनता आफैंले शान्ति प्रक्रियामा नौलो उदाहरण स्थापित गरेको पनि बताउनु भयो ।

उहाँले आफ्नो अनुभूति सुनाउँदै भन्नुभयो, ‘मैले जनमुक्ति सेनाको सुरक्षामा रहेर संविधान सभाको चुनावमा मतदान गरें, अहिले संविधान सभाबाट संसारको सबैभन्दा समावेसी संविधान जारी भएको छ ।’ संविधानमा आफूहरुले उठाएका सबै विषयहरु समेट्न भने नसकिएको उहाँको भनाई थियो । उहाँले माओवादीले नै संविधान सभाबाट संविधान बनाउने मुद्धा उठाएको पनि बताउनु भयो ।

अध्यक्ष प्रचण्डले अब देश संमृद्धितर्फ अगाडि बढ्ने बताउनु भयो । देश विकासका लागि जलविद्युत, पर्यटन र कृषि मुख्य रहेको उहाँको भनाई थियो ।  जर्मन वाम पार्टीको तर्फबाट श्रीमती हेइक हेन्जलले युरोपमा वाम आन्दोलनका बारेमा आफ्ना भनाई राख्नुभएको थियो । उहाँले जर्मनमा वाम आन्दोलन उठाउन धेरै चुनौति रहेको पनि बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार २०:१०:१८