यो संविधानमा जनयुद्ध र जनआन्दोलनको छाप छः अध्यक्ष प्रचण्ड

काठमाडौं, ११ चैत । अध्यक्ष प्रचण्डले संविधानसभाबाट जारी संविधानमा जनयुद्ध र जनआन्दोलनको छाप भएको बताउनु भएको छ । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । संविधान बन्नु, गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समानुपातिक, समावेसी लगायतका विषयहरु एमाओवादी नेतृत्वकै कारणले भएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो,‘ क्रान्तिकारी पार्टी र यसको नेतृत्व विरुद्ध भएका आक्रमणलाई बुझ्न सकेनौं, संविधानमा भएका उपलब्धीलाई बुझ्न सकेनौं र संविधान कार्यान्वयन गर्न सकेनौं भने ठूलो नोक्सानी हुनेछ ।’

अध्यक्ष प्रचण्डले नेपालमा अन्य राजनीतिक दलहरुमा महिला, जनजाति, मुश्लिम, मधेसी, दलित लगायतका कोटाको चेतना हामै्र पार्टी र नीतिले जगाएको हो भन्नुभयो । यो संविधानलाई आफूहरुले सम्पूर्ण रुपले पूर्ण नभनेको बताउँदै संविधानमा असहमतिका बुँदाहरु दर्ज गरेको उहाँको भनाई थियो । अध्यक्षले समाजवादी क्रान्तिका लागि नेवाः मोर्चा लगायत सबै मोर्चाहरु सक्रिय हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेवाः मोर्चा समाजवादी क्रान्तिको अंग बन्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले अहिले आफू राष्ट्रपति र प्रधानमन्त्री खोज्ने भन्दा पनि आम उत्पीडित जनताको पार्टी निर्माणका लागि खट्ने बताउनु भयो । एक अर्को प्रसंगमा अध्यक्षले जनता प्रतिको जिम्मेवारी बोध हुने पार्टीमा रहने र जनता प्रतिको जिम्मेवारी बोध नहुनेले पार्टी छोड्ने गरेको बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार २२:३:४४