जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिसँग भेट

भदौ १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिले भेट गर्नुभएको छ ।
आज विहान प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको भेटमा प्रधानमन्त्रीले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको र नेपालको दुःख सुखमा सधै जापानको साथ रहेको भन्दै दुई देशको सम्वन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन प्रयत्नशील रहने वताउनु भयो । प्रधानमन्त्रीले नेपाल जापानको दौत्य सम्वन्ध सुमधुर ढंगले साठी बर्ष पुगेको वताउँदै जापानको तर्फवाट प्राप्त सहयोग र सदभावप्रति धन्यवाद व्यक्त गर्दै नेपाल राजनीतिक परिवर्तनपछि आर्थिक परिवर्तनका दिशामा अघि बढेकाले आगामी दिनमा पनि जापानको निरन्तर सहयोग र सदभाव रहने विश्वास व्यक्त गर्नु भयो ।
जापानका राज्यमन्त्री नोबु किसिले नेपालले संविधान घोषणा गरेकोमा बधाई ज्ञापन गर्दै संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुर्ननिर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्रीले अघि बढाउनुभएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने वताउनु भयो ।
भेटका अवसरमा राज्यमन्त्री नोबु किसिले काठमाडौं नौविसे सुरुङ मार्ग निर्माणका लागि पहयोग गर्न प्रधानमन्त्रीले राख्नु भएको प्रस्ताव प्रति समर्थन गर्नुभयो । उहाँले जापानको तर्फवाट १८ बिलियन नेपाली रुपैया बराबरको सहयोग दिलाउन प्रक्रिया अघि बढाउने जानकारी गराउनु भयो ।

कात्तिक १०, २०८१ शनिबार ७:३:२७