संविधान दिवस मूल समारोह समिति गठन

भदौ १५, काठमाडौं । संविधानसभावाट नयाँ संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा आगामी असोज २, ३ र ४ गते देशभर विविध कार्यक्रमका साथ संविधान दिवस मनाइने भएको छ । संविधान दिवस मनाउन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्माननीय प्रधानन्यायधिश, सम्माननीय सभामुखसहित उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख, राज्यका प्रमुख निकायका पदाधिकारी, राजनीतिक दल, जनसमुदाय र संघ संस्थाका प्रतिनिधि समेतको सहभागिता रहेको मूल समारोह समिति गठन गरिएको छ ।
मूल समारोह समितिले विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको छ । यस अवसरमा असोज ३ गते विहान ८ वजे सैनिक मञ्च टुडिखेलमा सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी ज्यूको प्रमुख आतिथ्यतामा मूल समारोहको आयोजना गरिने छ ।
संविधान दिवस मूल समारोह समितिको पहिलो बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्त गर्नुभएको मन्तव्यको संक्षित अंशः
संविधान घोषणा भएको १ वर्ष पूरा भएको अवसरमा पहिलो संविधान दिवस मनाउँदैछौं, यो हामी सबैका लागि गर्वको विषय हो ।
लामो संघर्ष र वलिदानीपछि संविधानसभावाट संविधान घोषणा गरेका छौं, सार्वभौम जनतावाट घोषणा भएको यो संविधान विगतभन्दा गतिशील, परिवर्तनशील र ऐतिहासिक छ ।
यो संविधानमा राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्र जस्ता विषय बाहेक सबै विषय परिमार्जन हुन सक्छ । हामीले गत १ वर्षमा २ पटक संविधान संशोधन गरेर थप गतिशील बनायौं, र आगामी दिनमा पनि अझै फराकिलो ढंगले असन्तुष्ट समुदायका माग सम्वोधन गरी संविधानलाई सर्वस्विकार्य बनाउन सरकार प्रयत्नशील छ ।
विश्वका संविधानका तुलनामा नेपालको संविधानमा मौलिकता झल्किएको छ ।
एकतावद्ध भएर संविधान दिवस मनाइनेछ । यस दिनलाई जनताको चाहना बमोजिम अगाडि जाने संकल्प गर्ने दिनका रुपमा लिन जरुरी छ ।

कात्तिक १०, २०८१ शनिबार ९:८:१७