डडेल्धुराका सर्वदलीय टोलीद्वारा अध्यक्षसँग भेटवार्ता

काठमाडौं, १७ चैत । डडेल्धुराबाट आएको एक प्रतिनिधि मण्डलले आज अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको छ । लाजिम्पाटमा भएको भेटवार्तामा उक्त प्रतिनिधि मण्डलले जिल्लामा विकास निर्माण र सुरक्षाका योजनाहरुका बारेमा माग गरेको थियो । उच्चस्तरीय राजनीतिक समन्वय समितिका पनि संयोजक रहनुभएका अध्यक्ष प्रचण्डलाई प्रतिनिधि मण्डलले उपक्षेत्रीय अस्पताल, एयरपोर्ट, सुरक्षा निकायको स्थापनाका लागि पहल गरिदिन माग गरेका थिए ।

१३ वटै अञ्चलहरुमा प्राविधिक शिक्षालय स्थापना गरिएको तर महाकाली अञ्चलमा मात्र बाँकी रहेकोले सोको पहलका लागि उक्त प्रतिनिधि मण्डलले माग गरेको थियो । अध्यक्षले डडेल्धुराका समस्याहरुका लागि सम्बन्धीत मन्त्रालय र उच्च स्तरीय राजनीतिक समन्वय समितिमा छलफल चलाउने बताउनु भयो । त्यसैगरी काभ्रे जिल्लाको कात्तिक देउराली–२ मा अवस्थित प्रभा बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसका लागि पहल गरिदिन एक सर्वपक्षीय टोलीले अध्यक्ष प्रचण्डलाई आज बिहान भेट गरी आग्रह गरेको छ । उक्त टोलीमा सहभागी विभिन्न राजनीतिक दल र समाजसेवीहरुले सबै राजनीतिक दलहरुका शीर्ष नेताहरुलाई भेटी सोको पहल गर्न आग्रह गरिसकेको बताएका थिए ।

उक्त क्याम्पसमा १७ गाविसका विद्यार्थीहरु पढ्ने गरेको र २७ गाविसको केन्द्र भएको पनि उनीहरुले बताए । अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रको विकासका लागि उच्चस्तरीय आयोग बनाएर शिक्षा क्षेत्रको विकास गर्ने बारेमा छलफल भईरहेको बताउनु भयो । उहाँले उक्त क्याम्पसलाई आंगिक बनाउने बारेमा शिक्षा मन्त्रीसँग आवश्यक छलफल गर्ने पनि बताउनु भयो ।

कात्तिक ७, २०८१ बुधबार ९:१३:४०