तराई–मधेशमा माओवादी केन्द्र पहिलो हुन्छ, ‘प्रचण्ड’

भदौं ४, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको भावनाको सम्बोधन गरेकाले तराई मधेशमा माओवादी केन्द्र पहिलो पार्टी हुने बताउनु भएको छ ।
माओवादी विद्रोहको बेला मधेसी जनताको मुद्दा उठाउने र शान्ति प्रक्रियामा पनि मधेसी जनताको भावना संविधानमा सम्बोधनका लागि इमान्दारीका साथ पहल माओवादी केन्द्रले मात्रै गरको अध्यक्ष प्रचण्डले बताउनु भयो ।
नयाँ शक्ति पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका दुई सय भन्दा धेरै नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘माओवादी बिना मधेसी जनताप्रतिको उत्पीडन अन्त्य हुन सक्दैन, ‘अरुबाट केही हुनेवाला छैन, साँचो अर्थमा हिमाल, पहाड र तराई जोड्ने मधेसी जनताको चाहानार भावना बुझेर सम्बोधन गर्ने दुष्टिकोण माओवादीसँग मात्रै छ ।’ अध्यक्ष प्रचण्डले थप्नुभयो, ‘तपाईहरुको पुनर्मिलनले यही सन्देश दिएको छ ।’
पार्टी प्रवेश कार्यक्रममा प्रदेश नंं.–२ बाट प्रभावशाली नेता रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजेशकुमार यादव लगायत सयौं नेता तथा कार्यकता पार्टी प्रवेश गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गदै प्रचण्डले मधेशका जनताले साँच्चै नै उत्पीडनबाट अन्त्य खोजेको र त्यो माओवादी केन्द्रबाट मात्रै सम्भव भएको बुझेर पुनर्मिलन भएको बताउनु भयो । ‘रामचन्द्रजीहरुलाई एमालेमा भित्राउन ठूलो कसरत भइरहेको थियो’ प्रचण्डले भन्नुभयो, ‘मैले उहाँलाई भनेको थिएँ, विचार, मुद्दा वा पद र ठूलो पार्टीलाई हेर्नुहुन्छ ? यो टेष्ट पनि थियो उहाँ पास हुनु भयो ।’
कार्यक्रममा बोल्दै प्रचण्डले तराई मधेसमा पहिलो पार्टी हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं.–२ सर्लाही, रौतहट, बारा लगायतका जिल्लाहरुबाट राष्ट्रिय जनता पार्टी र अन्य दलसँग सम्बन्धित थुप्रै बरिष्ठ नेताहरु पार्टी एकता हुन खुलासा पनि उहाँले गर्नुभयो ।
‘कार्यक्रम नै बनिसक्यो, १०÷२० हजार जनताको बीचमा उहाँहरु पार्टी प्रवेश गर्ने निश्चित भएको छ’, प्रचण्डले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट चुनाबी अभियान यही स्प्रीटमा अगाडि बढाउन सके माओवादी केन्द्रलाई पहिलो शक्ति बन्नबाट कुनै तागतले रोक्न सक्दैन, यसबाट मात्रै राष्ट्रिय एकता र नयाँ ढंगको स्वाधिनता सुदृढ हुनसक्छ ।’
प्रचण्डले माओवादी पार्टी छोडेर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराई लगायतका अन्य नेताहरुलाई समेत माओवादी केन्द्रमा फर्किन प्रचण्डले आह्वान गर्नुभयो । ‘केही नेता क्रान्ति पुरा भएन भनेर अन्यत्र जानु भयो । कसैले क्रान्ति चाहिँदैन भनेर जानुभयो, अब सबै माओवादी केन्द्रमा फर्किनु पर्छ । यसरी मात्रै क्रान्तिको बाँकी कार्यभार पूरा गर्न सकिन्छ ।’
‘बैद्यजी, बाबुरामजी, विप्लवजी पनि आउनु हुन्छ । उहाँहरु आउनु भएन भने उहाँहरुसँग केही पनि बाँकी रहदैन । यो विज्ञान हो, यसका विरुद्ध कोही पनि जान सक्दैन’, प्रचण्डले भन्नुभयो ।

 

कात्तिक ९, २०८१ शनिबार ४:२२:१०