थप छलफल गरेर निष्कर्षमा पुग्ने नेताहरुबीच समझदारी

पौष १२, काठमाडौं । सरकारमा सहभागी प्रमूख दल नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको बालुवाटारमा सम्पन्न बैठकले जारी छलफललाई घनिभूत बनाउँदै एक, दुई दिनभित्रै राजनीतिक सहमति जुटाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्रीले २०७४ माघभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान रहेको बताउँदै राजनीतिक निकासका लागि बिलम्ब गर्न नहुने धारणा राख्नुभएको थियो । बैठकमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुले स्थानीय निर्वाचनको घोषणा गरेर मुलूकलाई निकास दिन र संसदमा दर्ता भएको संशोधन प्रस्तावलाई निर्णयार्थ पेश गर्ने राजनीतिक वातावरणका लागि मधेशी मोर्चासँग सहयोगको आग्रह गर्नुभएको थियो ।
बैठकमा मोर्चाका नेताहरुले संसदमा दर्ता संविधान संशोधन प्रस्ताव परिमार्जन गरेर टुंगोमा पुगेपछि निर्वाचनमा जानु उपर्युक्त हुने आफूहरुको धारणा राखेको जानकारी दिँदै राजनीतिक संकटमा समाधानका लागि लचिलो हुने मोर्चा तयार रहेको जानकारी गराउनु भएको थियो ।
आजको बैठकमा नेताहरुबीच छलफललाई तिब्रता दिएर एक, दुई भित्रै समाधानमा पुग्न प्रयत्न गर्ने समझदारी भएको छ । सरकार सम्वद्ध दलहरुले प्रतिपक्षी दल नेकपा एमाले र मधेशी मोर्चासँग थप छलफल गरेर स्थानीय निर्वाचन, संविधान संशोधन, महाअभियोग लगायतका विषयलाई सहमतिका साथ टुंगाउन पहल गर्ने तयारी गरिरहेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, मातृका यादव, स्थानीय विकास मन्त्री हितराज पाण्डे, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत मधेशी मोर्चाका प्रमूख नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार १५:१०:२४