दलित भनेको उत्पीडनका विरुद्ध विद्रोह होः अध्यक्ष प्रचण्ड (भिडियाे)

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलित शब्द आफैंमा विद्रोह भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म के ठान्छु भने शब्द मुख्य कुरा छैन । आन्दोलन मुख्य कुरा हो । दलित भन्नुको अर्थ अन्याय, अत्याचार, शोषण उत्पीडनका विरुद्ध संघर्ष हो । आत्मसम्मानका निम्ति आन्दोलन हो ।’ रुपन्देहीको बुटवलमा शुक्रवार राष्ट्रिय दलित पत्रकार संघको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मुलुकमा एकपछि अर्के गर्दै अस्वाभाविक घटना भइरहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले अहिलेसम्मका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धीलाई उल्ट्याउनका लागि षड्यन्त्र गरिएको बताउनुभयो । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र गणतन्त्रलाई सिध्याउन प्रयास गरिएको उहाँको भनाई थियो । ‘तर, ती उपलब्धीलाई कुल्चिने प्रयास भए ७० वर्षदेखि लडेर ल्याएको संविधानलाई ध्वंस गर्ने प्रयत्न विरुद्ध फेरि एकपटक क्रान्तिको आँधीबेहरी ल्याउनुपर्छ,’ उहाँले भन्नुभयो । अध्यक्षले भन्नुभयो, अहिले विश्वभर चलिरहेको छ कलरफुल रिभोलुशन । क्रान्तिलाई पुरा गर्न नेपालमा पनि शान्तिपूर्ण कलर रिभोलुसन आवश्यक रहेको छ । परिवर्तन उल्ट्याउन खोज्नेहरु विरुद्ध शान्तिपूर्ण क्रान्ति गरिन्छ ।’

सर्वोच्च अदालतले हालै नेपाल कम्युनिष्ट पार्टी खारेजीको सम्बन्धमा गरेको फैसलाप्रति संकेत गर्दै जन्मिसकेको बच्चालाई पुनः गर्भमा पठाउन खोजिएको टिप्पणी समेत गरे । उनले आश्चर्यमान्दै भने, यस्तो अचम्म पनि हुँदोरहेछ । यस्तो अनौठो परिघटना पनि हुँदोरहेछ । यसबाट पनि पुष्टि हुन्छ, केही अनिष्ठ त हुँदैछैन देशमा, अझै कति अस्वभाविक परिघटना देख्न पर्ने हो ?’

अध्यक्ष प्रचण्डले अहिले सबैभन्दा धेरै घेरावन्दी आफुमाथि भएको पनि बताए । ‘प्रतिगामी र परिवर्तन विरोधीले, संघीयता, गणतन्त्र, समानुपातिक, समावेशी मन नपाराउने देशी विदेशी शक्तिहरु सबै मिलेर यो परिवर्तनका लागि अग्रगामी भूमिका खेल्ने नेताहरुको बद्नाम गर्ने कोशिस भैरहेको छ, ’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अहिले सबैभन्दा धेरै घेराबन्दी ममाथि भएको छ ।’

कात्तिक ६, २०८१ बुधबार २:२९:५०