देशका लागि पछिसम्म सम्झन लायक काम गर्नेछु, ‘प्रधानमन्त्री’

श्रावण २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक देशका लागि पछिसम्म सम्झनयोग्य काम गर्ने बताउनुभएको छ ।
सोमबार सरकारी निवास बालुवाटारमा ढिकुरपोखरी–काठमाडौं समाजले गरेको सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । सम्मान ग्रहण गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘अघिल्लोपटक ९ महिनामै सरकार छोड्नुपर्ला भन्ने लागेको थिएन, त्यसैले समयमा धेरै काम गर्न सकिएन । तर, यसपटक राष्ट्र र जनताले युगौंसम्म सम्झनलायक काम गर्नेछु ।’
प्रधानमन्त्रीले परिमार्जन सहित संविधानको कार्यान्वयन, तीन वटा निर्वाचन सम्पन्न गर्नु, पूनर्निर्माण, शान्ति प्रक्रियाको पूर्णता, सार्वजनिक सेवाको प्रभावकारिता र समृद्धि सरकारका मूख्य प्राथमिकता भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘देशले आर्थिक समृद्धिको खाका खोजेको छ । त्यसका लागि परिणाममूखी काम गर्ने पक्षमा छु ।’
प्रधानमन्त्रीले आफ्नो जन्म गाउँ ढिकुरपोखरीले शैक्षिक क्षेत्रमा ठूलो प्रगति गरेको भन्दै आधारभूत पूर्वाधार निर्माण र प्राविधिक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो ।
भेटमा समाजका प्रतिनिधिहरुले आगामी निर्वाचनमा कास्की क्षेत्र–४ बाट निर्वाचनमा उठ्न अपील गर्दै पोलिटेक्निकल कलेज, भौतिक पूर्वाधार लगायतका क्षेत्रमा सहयोग गर्न आग्रह गरेका थिए ।

कात्तिक ७, २०८१ बुधबार ७:६:९