देशलाई नयाँ युगतिर लैजाने सपना छः अध्यक्ष प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताउनुभएको छ । नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताउनुभएको हो ।

उहाँले परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा धेरै चिज सुधार गर्ने प्रयास गरेको बताउनुहुँदै त्यसमा गर्व महशुस हुने गरेको बताउनुभयो । राष्ट्रिय एकता नै खण्डित हुने अवस्थामा मधेसलाई विश्वासमा लिएर चुनाव सम्पन्न गराएको पनि अध्यक्ष प्रचण्डको भनाई थियो ।

वामपन्थीहरूको बीचमा एकता गरेर स्थायित्वसहित विकास र सामाजिक न्यायमा आमूल परिवर्तन गर्न खोजे पनि त्यो सफल नभएको उहाँको भनाई थियो । अध्यक्षले भन्नुभयो, “मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति । यहाँ त्यो कुरा पनि आयो । म नेपाल पर्वतारोहण संघलाई धन्यवाद भन्न चाहन्छु ।” उहाँले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै मुलुकमा देखिएको आर्थिक संकटलाई टार्नका लागि पर्यटक क्षेत्र एकमात्रै भरपर्दो माध्यम भएको उल्लेख गर्नुभयो ।

कात्तिक ७, २०८१ बुधबार २३:४६:१०