देशैभरी माओवादीसँग एकताबद्ध हुने लहर सुरु भएको छ: अध्यक्ष प्रचण्ड(भिडियाे)

काभ्रे । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड देशैभरी माओवादीसँग एकताबद्ध हुने लहर सुरु भएको बताउनुभएकाे छ । काभ्रेकाे पाँचखालमा वाइसीएलकाे नगर भेलालाई सम्बाेधन गर्दै उहाँले भन्नुभयाे, ‘त्यो लहरको एउटा उदाहरण काभ्रे जिल्ला पनि हुँदैछ म तपाईहरु सबैलाई धन्यवाद भन्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले गर्नुभएकाे सम्बाेधनकाे अंशः

“पहिलोपटक संविधानसभाको निर्वाचनमा भौतिक रुपमा पनि सिध्याउने कोसिस भयो । कैयौँ ठाउँमा संविधानसभाको निर्वाचनको प्रचारमा जाँदा नजिकबाट मैले त्यो घटनाहरु देखेको छ । अहिले संसद विघटन गर्ने र यो संविधानलाई धारासायी पार्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने र प्रचण्डलाई सखाप पार्ने षड्यन्त्र भयो । प्रचण्डलाई सखाप पार्ने भनेको कुनै व्यक्तिलाई सखाप पार्ने होइन, यो परिवर्तनको आन्दोलनमा सहभागी सबै जनताको इच्छा, आकांक्षा र हामीले स्थापित गरेका राजनीति मूल्य मान्यताहरु संघीय लोकतान्त्रिक गणतन्त्रदेखि धर्मनिरपेक्षतासम्म सखाप पार्न खोज्ने काम भयो ।

आज तपाई हामी देख्छौँ, सबै साथीहरु अन्तत माओवादीकै लाइन ठीक रहेछ, अन्तत प्रचण्डले नै देशको रक्षा गर्ने रहेछ भन्ने ठाउँमा आउने अवस्था भयो । किरणजीहरुसँग छलफल चलिरहेको छ, विप्लवसँग छलफल चलिरहेको छ, बाबुराम उपेन्द्रजीसँग त हामी एउटै गठबन्धनमा छौँ, एउटै केन्द्र बनाउने कुरामा छलफल भइरहेको छ । मेरो लागि यो भन्दा खुसीको कुरा अरु हुन सक्दैन । उहाँहरु सबैसँग हार्दिकतापूर्वक संवाद अगाडि बढाउनुपर्यो, हामी केन्द्रमा वार्ता गरिरहेका छौँ ।

देशैभरी माओवादीसँग एकताबद्ध हुने लहर सुरु भएको छ । त्यो लहरको एउटा उदाहरण काभ्रे जिल्ला पनि हुँदैछ म तपाईहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । मैले सुनेको छु, खानीखोला गाउँपालिकाबाट एमालेको विकृति र विसंगतिविरुद्ध विद्रोह गर्दै सयौँ एमालेका कार्यकर्ता र अन्य पार्टीका कार्यकताहरु माओवादीमा केन्द्रित भएको समाचारमा मेरो ध्यान गएको छ । काभ्रेली पार्टीका नेता कार्यकर्तालाई धन्यवाद र बधाई भन्न चाहन्छु ।

माओवादी केन्द्र कमजोर भयो भने संघीय लोकतान्त्रिक गणतन्त्र मात्रै धरापमा पर्ने छैन, यदि माओवादी बलियो भएन, माओवादीेले आफूलाई रुपान्तरण गरेर जनतासँग एकाकर गरिएन भने यो देश नै खतरामा छ । हामीले नेपालको राष्ट्रिय स्वाधीनतानका निम्ति, नेपाली जनताको मुक्तिको आकांक्षालाई सम्बोधन गर्नका निम्ति र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै संविधान संशोधनमार्फत जनताको आकांक्षा पूरा गर्नका लागि यो कालखण्डमा माओवादीबाहेक अरु कुनै पार्टी छैन, कुनै विचार छैन ।

केपी ओली राष्ट्रिय आत्मसमर्पणवादी प्रतिक्रान्तिकारी फासिस्ट प्रवृत्तिको प्रतिनिधि हो । त्यसको वरिपरी कसरी विदेशी शक्तिहरु केन्द्रित हुँदा रहेछन् भन्ने कुरा मैले सबैभन्दा नजिकबाट देखे । केपीजस्तो निरंकुश, अहंकारी, दम्भीलाई हामीले पार्टीबाट ७० प्रतिशत केन्द्रीय सदस्य मिलेर निकालिएको हो, पार्टी फुटेको होइन ।

केपीजति बुद्धि नभएको नेता मैले कोही पनि देखेको छैन । यति ठूलो अवसर उनलाई थियो, चुप लागेर एकताको बेलामा भएको समझदारी पालना गरेको भए केपी ओली नेपालको इतिहासमा एउटा महान् नेता हुने अवसर थियो । तर, गिदिभित्र गोबर भरिएपछि केही नलाग्ने रहेछ ।

केपी ओली सामन्ती हिन्दु अतिवादी हो । तपाईहरुले जलहरी चढाएको त सुन्नुभयो, मेरो निर्वाचन क्षेत्रमा गएर राम, सीता, हनुमान, राख्दिएछ, म रामसीता हनुमानसँग लड्न जाने कुरा त आएन नि ? कम्युनिष्टले यस्तो काम गर्छ त ? विदेशीसँग आत्मसमर्पण गरेर आफ्नै पार्टीभित्रको सहमति तोडेपछि मैले १९ पृष्ठ लामो प्रतिवेदन लेखे ।

केपी हरुवा हो, केपी भगौडा हो । माक्र्सवादबाट भाग्यो, समाजवादी बाटोबाट भाग्यो । ओलीको माक्र्सवाद, जनविरोधी प्रवृत्तिलाई उदांगो गरेर उनलाई पार्टी सदस्यबाट निष्कासन गरेका हौँ ।

झुटो बोल्न सिपालु हुने क्षमता चाहिँ केपी ओलीको छ । नक्कली कुरा गरेर मान्छेलाई चक्मा दिने, काइते कुरा गरेर, उखान टुक्का गरेर के हो के हो भन्ने क्षमता चाहिँ ओलीसँग छ । प्रतिक्रियावादीहरु रुप राम्रो देखाउन सक्छन्, सार विकृत हुन्छन् ।

म भ्रष्टचार गर्दिन, गर्न पनि दिन्न, योभन्दा राम्रो अरु शब्दै हुन्न । तर, त्यो उनले किन भन्छन् भने आफूले गरेको भ्रष्टचार ढाकछोप गर्न भन्छन् । काभ्रे जिल्लामा ७० करोडको कुरा त सुन्नुभएकै छ । ७० करोडवाला कुरा प्रमाणित रुपले आयो, यस्तै एउटा भेला थियो, केपी र म सँगै थियौँ । मैले मैले यस्तो विकृति र विसंगतिलाई रोक्नुपर्छ भनेर बोले, उनले चाहिँ उनको चाहिँ गल्ती नै छैन, अर्काको षड्यन्त्र छ भनेर ढाकछोप गरे । भ्रष्टचारीलाई रोक्नका लागि नांगै हिडेका छन् । यस्तो ढोगी र पाखण्डी मान्छेले आफूलाई फेरि हामी जनताको हौँ भनेर अनौठो बोलिरहेका छन् ।

माओवादी सिद्धियो, यो सिद्धियो, यो पनि छैन, त्यो पनि छैन । खोइ प्रचण्डसँग किरण, बाबुराम, विप्लवसँग कोही छैन, प्रचण्डले सबै किन गए भनेर सोच्नुपर्दैन भनेर भने, उहाँहरु किन जानुभयो थाहा भएन । मैले चाहिँ माओवादी आन्दोलनको बिरासत बोक्नुपर्छ भन्ने ठानेर बोकेको बोकेकै छु । अन्तिम साससम्म आफ्नो बिरासतको रक्षाका लागि लड्नेबाहेक मसँग विकल्प छैन ।

एकपटक माओवादी पार्टी फेरि पुर्नठगित हुँदैछ । हामी माओवादी भनेका अर्कै धातुले बनेका मान्छे र पार्टी हौँ । सडकमा निस्किएर नारा लगाउने, जुलुस लगाउने र लड्ने र भिड्ने भनेपछि हामी सबैलाई जोस आउँछ । जनताको पक्षमा लड्न पाइयो, भिड्न पाइयो भने खुसी हुने पार्टीका कार्यकर्ता हौँ हामी । हामी यो देशका सबै विभेदमा परेका, उत्पीडनमा परेकाहरुको प्रवक्ता हौँ हामी । एमाले, कांग्रेस भनेका चाहिँ यसका विरोधी पार्टी हो ।

हामी तल फर्किन चाहन्छौँ । तपाईहरुले देख्नुभयो, पार्टी सदस्य नवीकरणदेखि सेलहरु सम्मेलन, वडा सम्मेलन, गाउँ नगर सम्मेलन र केन्द्रीय सम्मेलनसम्म जाँदा यो पार्टीलाई पुर्ननिर्माणको अभियानको एउटा थालनी हुनेछ । मैले के भनेको छु भने प्रत्येक वडामा डेढ सयदेखि दुइसजना जना समर्थक बनाउनुपर्यो हामीले । हामीले दुइयजना समर्थक बनायौँ भने १५ लाखजना हुने रहेछन् । अब हामीले त्यो दुइजनालाई २÷२ जना मतदाता तयार पार्न भन्यौ भने ३० लाख मान्छे हाम्रा भोटर हुन्छन् । ३ जना तयार पार्न भन्यौँ भने ४५ लाखजना मान्छे हाम्रा भोटर हुन्छन् । अनि हामी फस्ट पार्टी बन्न कसैले रोक्न सक्छ त ? अहिले जनताले अझ धेरै यो राष्ट्रलाई भित्रबाट माया गर्ने पार्टी त माओवादी नै रहेछ भन्ने त बुझेका छन् ।

जतिसुकै दबाब दिए पनि, धम्की दिए पनि, लोप दिए पनि नझुक्ने नेता प्रचण्ड नै रहेछ भन्ने अहिले सबैले बुझेका छन्, एकचोटी माओवादीलाई हेर्नुपर्यो भन्ने मुड बनेको छ, यसलाई माहौल बनाउने जिम्मा तपाईहरुकै हो ।

२०६४ मा हामी कांग्रेस, एमाले जोड्दा पनि हाम्रो हाराहारीमा थिएन, त्यो माहौल थियो, त्यो माहौल बनाउनेमा हामी भरखरै जनयुद्धबाट आएको राप ताप त छँदै थियो, तर हामीले चुनाव जित्नुको एउटा प्रमुख कारणहरुमध्ये वाइसिएल नै थियो । वाइसिएल भनेको प्रतिक्रियावादी जाली फटाहको निम्ति आतंक, वाइसिएल आयो भनेपछि सातो जान्थ्यो सबैको । यस्ता के बस्नेत र उ बस्नेत त कहाँ कहाँ लखेटिए, लखेटिए । अनि जनतालाई वाइसिएल भनेपछि आफ्नो छोराछोरी, आफ्नो रक्षक, संरक्षक, आफ्नै छोराछोरी ठान्थे । बीचमा गज्याङमज्याङ भएको छ के । हामी पनि थाहै नपाई अलिअलि बिग्रियौँ । वाइसिएल पनि कताकता विस्तारै अलिकति यस्तै रहेछ भन्याजस्तो भयो ।

वाइसिएल एकपटक फेरि ०६४ मा फर्किनुपर्यो । यहाँ जालझेल, छलकपट गर्नेहरुलाई आतंक भएर देखिनुपर्यो । बडो हामीलाई तर्साउन खोज्छन् नि, माओवादीलाई तर्साउन खोज्ने ? माओवादीलाई ? लाजै मर्दो होइन त ? यी कायर र दलालहरुले हामी जनताका छोराछोरीहरुलाई तर्साउन खोज्ने । त्यसकारण वाइसिएल एकपटक पूरै जागेर आउनुपर्यो र हामी पहिला जाइलाग्ने होइन, आइलाग्यो भने इँटको जवाफ पथरले दिनुहोला, रक्षा गर्ने जिम्मा हाम्रो भयो ।

अब तपाई पार्टीका सबै साथीहरु र वाइसिएलका साथीहरुले बिलकुल भ्रम त्याग्नुस, डर हटाइदिनुस्, जो डरगया उ मरगया भन्याजस्तो भयो के, हामी अलिकति डराएपछि त मर्ने भयो । जाग्यो भने हामी जित्छौँ, हिजो पनि जितेकै हौँ ।

अबको चुनाव ०६४ को जस्तो बनाउनैपर्छ हामीले । जालझेल गर्ने, त्यहाँ गएर चाहिँ बाकस साट्ने या पुलिस वा कर्मचारीलाई प्रयोग गरेर जित्न खोज्नेलाई भ्याकुर लखेट्या झैँ लखेट्नुपर्छ गाउँगाउँबाट अनि पो चुनाव जितिन्छ । हामीले त्यतिबेला कति गरेका थियौँ, तपाईहरुले कति गर्नुभएको थियो ।

अहिले सोझो बन्दा त हामीलाई सबैले हेप्न थाल्यो । हामी किन हेपिने ? हामी अब लड्ने शान्तिपूर्ण नै हो । यी गुण्डाहरुले पनि शान्तिपूर्ण भन्छन् र गुण्डागर्दी गर्छन् । हामी पनि शान्तिपूर्ण भन्ने गुण्डालाई ठीक गर्ने । हामी बन्दुक लिएर चाहिँ नजाने । उनीहरु लठी लिएर आए, लठी लिएर जाने, बक्सिङ लिएर आए बक्सिङ लिएर जाने तर ठोक्ने । गुण्डाहरुलाई, भ्रष्टहरुलाई टाउको उठाउन नदिने ।

यो सम्मेलनबाट तपाइहरुले धेरै लम्बाई चौडाई योजना पास गर्नु परेन । जाली फटाहलाई ठीक पार्ने जनतालाई सेवा गर्ने भनेर संगठन व्यापक बनाउने, टिम बनाउने, फटाहा आयो भने गोद्ने भन्ने निर्णय गर्नुहोला । जाली फटाहलाई चैनसँग बस्न नदिने, जनतालाई सेवा गर्ने भन्ने निर्णय गर्नुहोला, यति गरेपछि हुन्छ ।

गाउँपालिकाको चुनाव जित्न लाखौँ नभई जित्न सक्ने अवस्था छैन । प्रदेशकोले करोडौँ नभइकन जित्ने कुरै छैन । संघमा जित्न त ५/१० करोड चाहियो । यस्तो चुनाव हाम्रो चुनाव हो त यो ? अहिले भरखरै त म भन्न सक्दिन, तपाई हामी भिडेर जाने हो भने यो चुनाव प्रणाली खारेज गरेर पूर्ण समानुपातिक चुनाव प्रणाली लागू गरेर बिना पैसा चुनाव जित्न सकिन्छ । जनताले चुनाव जित्ने बनाउने हो, दलाल र पुँजीपतिले होइन । शासकीय स्वरुप राष्ट्रपति बनाएको छ, तर महाराजधिराजजस्तो । त्यस्तो नहुने अब सिधै राष्ट्रपति र प्रधानमन्त्री चुनियो भने सिधैँ जनताले फिर्ता बोलाउन सक्ने हो भने यस्तो विधि त हुँदैनथ्यो नि । हामी त्यसो किन नगर्ने ?

अब वडाको सम्मेलन, गाउँ नगरको सम्मेलन अनि प्रदेश र केन्द्रको सम्मेलनसम्म पुग्दा देशैभरी सदस्य र निर्वाचन निर्देशिका, सबै कमिटि हाम्रा अब वैधानिक ढंगले कमिटि निर्माण गर्नैपर्छ । र, मैले अघि भनेकोजस्तो आउने निर्वाचनमा हामी १ नम्बर हुने संकल्प गर्छौ, हामी १ नम्बरको हुन्छौँ । सबै जाग्ने हो भने त्यो टाढा छैन ।

जनता निरासा छैन, जनता वाक्क भएका छन् । माओवादी कहाँ गए, पहिले सबै घरमा आउँथे, खेतीपाती पनि सघाउथे, कहाँ गए भनेर निरास छन् । तलका कार्यकर्ता कोही बिग्रिएका छैनन् । बिग्रिएका भनेका टाठाबाठा, चुनाव जितेकाहरु बिग्रिएका छन् । जो जति माथि आएका छन्, त्यति बिग्रिएका छन् ।

मैले अरुलाई केही भन्दिन, बिग्रिएको म हुँ भनेको छु । बिग्रिएको म हुँ, म चाहिँ सच्चिन्छु, को–को सच्चिने नसच्चिने तपाइहरुको जिम्मा भयो । म त एकचोटी हाम फाल्छु, हिजो जनयुद्धमा हाम फाले, त्यसपछि शान्तिप्रक्रियामा हाम फाले, अनि संविधान बनाउनेमा हाम फालियो, पार्टी एकतामा हाम फालियो । म समाजवादी क्रान्तिको लागि अब हाम फाले फाले । पूरै ज्यान छाडेर समाजवादी क्रान्तिको लागि हाम फाले ।”

कात्तिक ७, २०८१ बुधबार २१:१४:५३