निर्वाचन र संशोधनमा सहमति खोज्ने बैठकको निर्णय

बैशाख ८, काठमाडौं । संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनबारे सहमति जुटाउन बसेको सत्तारुढ दल र मधेशी मोर्चा बीचको बैठकले सहमतिमै राजनीतिक निकास खोज्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा बसेको बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, प्रस्तावमाथि मोर्चाको धारणा र बैशाख ३१ गते घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा कुराकानी भएको थियो ।
सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर शनिबार दिउँसो २ बजे बस्ने बैठकमा सहमति जुटाउने सत्तारुढ दल र मोर्चाका नेताहरुले बताउनु भएको छ । बैठकमा सत्तारुढ दलका नेताहरु संविधान संशोधन प्रस्तावलाई थप परिमार्जन गर्न सकारात्मक भएको र मोर्चाका नेताहरु सकारात्मक वातावरण बनाएर स्थानीय तहको निर्वाचनमा सहभागी हुन सकारात्मक हुनुभएको छ ।
आजको बैठक निकै सकारात्मक र उत्साहवद्र्धक भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार ७:१३:३०