निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ, ‘प्रधानमन्त्री’

माघ २५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निर्वाचन हुने र गर्नैपर्ने बताउनु भएको छ । मंगलबार दिउँसो निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिनको प्रयोगबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले निर्वाचनमा कुनै शंका नगर्न आग्रह गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, ‘निर्वाचन सम्बन्धि ऐन पारित भइसकेका छन् । सरकार निर्वाचनको तयारीमा लागिरहेको छ । अब निर्वाचनमा कुनै शंका नगरौं, निर्वाचन हुन्छ, निर्वाचन गर्नैपर्छ ।’ कार्यक्रममा प्रधानमन्त्रीले अब नेपाली जनता प्रविधि प्रयोगमा सक्षम भइसकेको बताउँदै भन्नुभयो, ‘यसपालि म देशका विभिन्न भागमा पुगें, दुर्गम ठाउँका जनताले पनि सेल्फोन बोक्न थालिसकेका छन् । अब नेपालीले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न जान्दैनन् कि भन्ने सोच्नु गलत हो । हामीले निर्वाचन शिक्षालाई प्रभावकारी त बनाउनैपर्छ । तर, सेल्फोन बोक्ने नेपालीले विद्युतीय मेसिनलाई हाउगुजी ठान्दैनन् ।’
कार्यक्रममा प्रमूख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले विद्युतीय भोटिङ मेसिनले निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, छिटो र कम खर्चिलो हुने भन्दै आयोगले सरकार र व्यवस्थापिका–संसदले दिने निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोग तयार रहेको जानकारी दिनुभयो । कार्यक्रममा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधि लगायतले विद्युतीय भोटिङ मेसिनका प्राविधिक पक्षबारे जानकारी लिनुभएको थियो भने निर्वाचन आयोगका तर्फबाट विद्युतीय भोटिङ मेसिनका विशेषताबारे जानकारी गराइएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार ९:७:३५