निर्वाचनको तयारीमा लाग्न कर्मचारीलाई निर्देशन

फाल्गुण ४, पाँचथर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार आगामी बैशाखको अन्त्य र जेठको पहिलो हप्तामा स्थानीय तहको निर्वाचनको तयारीमा जुटेको भन्दै त्यसको तयारीमा लाग्न नेपाल सरकारका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको उद्घाटन गर्न पाँचथर पुग्नुभएका प्रधानमन्त्रीले जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरुलाई सामूहिक निर्देशन दिनुभएको हो । निर्देशन दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो र आज राजनीतिक तहमा राम्रो छलफल भएको छ । निर्वाचनमा जान प्रमूख दल र नेताहरु सम्वेदनशील छन् । सरकारले छिटै निर्वाचनको घोषणा गर्दैछ । तपाईहरुले जिल्लामा निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन आजैदेखि लाग्नुहोस् ।’
प्रधानमन्त्रीले थप्नुभयो, ‘हामीकहाँ एकातिर विकास आयोजनामा छुट्टाएको रकम खर्च गर्न नसक्ने र अर्कोतिर पैसा पुगेन भन्दै बजेट माग्ने समस्या छ । पूँजीगत खर्च बढाउने सरकारको संकल्प छ, तपाईहरु पनि पूँजीगत खर्च बढ्ने गरी काम गर्नुहोस् । आ—आफ्नो कार्यक्षेत्र भित्रका विकास आयोजनाको निरीक्षण र अनुगमन गर्नुहोस्, समयमै गुणस्तरीय काम गर्न प्रेरित गर्नुहोस् ।’
निर्देशनका क्रममा प्रधानमन्त्रीले जनताले परिवर्तनको महशुस हुने गरी सेवा प्रवाह गर्न पनि कर्मचारीलाई निर्देशित गर्नुभएको छ । कार्यक्रममा पाँचथरका प्रमूख जिल्ला अधिकारी किरण थापाले जिल्लाको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

कात्तिक ८, २०८१ बिहीबार ६:६:२५