निर्वाचनमा माओवादीले जित्नु सुनमा सुगन्ध हुन्छ, ‘प्रचण्ड’

माघ १३, कुश्मा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादीले जिते सुनमा सुगन्ध हुने बताउनु भएको छ । पर्वतको कुश्मा बजारमा माओवादी केन्द्रका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताउनु भएको हो ।
कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘संविधान माओवादीको एजेण्डा हो । संविधानमा व्यवस्था गरिएको गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, संघीयता, सामाजिक न्याय सबै माओवादीका एजेण्डा हुन् । हामीले हाम्रा एजेण्डा लागु गर्न संविधान कार्यान्वयन गर्न अनिवार्य छ । संविधान कार्यान्वयनका लागि निर्वाचनको कुनै विकल्प छैन । निर्वाचन भएमा देशले जित्नेछ, निर्वाचनमा माओवादीले जित्दा सुनमा सुगन्ध हुन्छ ।’
फेरि पनि माओवादी पहिलो शक्ति बन्ने प्रचण्डले बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशमा माओवादीको बिकल्प छैन । माओवादीले मात्रै परिवर्तनका मुद्दा संस्थागत गर्न र आर्थिक समृद्धिलाई गति दिन सक्छ । सरकार जनताको जीवनमा परिवर्तन ल्याउन र राजनीतिक निकास दिन प्रयत्नशील छ । आगामी निर्वाचनमा माओवादी फेरि शक्तिशाली भएर जान्छ । त्यही मनोबलका साथ तपाईहरु जनताको बीचमा जानुहोस् ।’
माओवादी धाराको एकता सम्भव रहेको उहाँको भनाई थियो । प्रचण्डले भन्नुभयो, ‘मैले सबै धाराका माओवादी नेताहरुसँग निरन्तर सम्वाद गरिरहेको छु । माअ‍ोवादीहरु मिल्नुको विकल्प छैन । माओवादी एकता रोकिएको छैन । हामीले माओवादीहरुलाई एउटै केन्द्रमा ल्याउन निरन्तर पहल गरिरहेका छौं ।’
संविधान संशोधनबारे बोल्दै प्रचण्डले भन्नुभयो, ‘अहिले उठिरहेका आवाज केही पनि होइनन् भन्ने ठान्यौं भने देशको स्वाधीनता र स्वाभिमान नै अप्ठ्यारोमा पर्न सक्छ । मधेश, पहाड, हिमाल मिलेर नै देशको समस्या समाधान हुन्छ, संविधान कार्यान्वयन हुन्छ । केही व्यक्तिले भड्काउन खोज्दैमा हजारौं वर्षदेखि कायम भएको राष्ट्रिय एकता भड्किँदैन । अब राजनीतिक स्थिरताको विकल्प छैन ।’

कात्तिक ६, २०८१ बुधबार ५:३:४८