नेकपा (माओवादी केन्द्र)को अध्यक्षमा कमरेड प्रचण्ड निर्विरोध निर्वाचित

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवनिर्वाचित केन्द्रीय समितिको बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निर्विरोध चयन गरेको छ । सोमबार बसेको बैठकले पदाधिकारी निर्वाचनबारे छलफल गर्दै अध्यक्षमा उहाँलाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

स्रोतका अनुसार बैठकमा अहिलेको सन्दर्भमा प्रचण्डकै नेतृत्व आवश्यक रहेको भन्दै नेता नारायणकाजी श्रेष्ठले उहाँको नाम प्रस्ताव गर्नुभएको थियो। पार्टीलाई समाजवादी क्रान्तिमा अघि बढाउन प्रचण्डकै नेतृत्व अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डकै नेतृत्वमा जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया हुँदै संविधानसभा निर्वाचन र संघीयता तथा गणतन्त्रसहितको संविधान निर्माण भएको भन्दै उहाँले अध्यक्ष प्रचण्डकै नेतृत्वमा अब बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

कात्तिक ७, २०८१ बुधबार ६:१५:२