नेकपाका दुई केन्द्रीय नेता माओवादी केन्द्रमा प्रवेश

कार्तिक ८, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई केन्द्रीय नेताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ । बुधबार अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर नेकपाका केन्द्रीय सदस्य तथा कोशी ब्यूरो ईन्चार्ज राजेन्द्र कार्की ‘नवीन’ र नेकपाका केन्द्रीय तथा अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष टेकबहादुर बलम्पाकी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो ।
माओवादी केन्द्र प्रवेश गर्दै नेता कार्कीले नेपालमा एउटै कम्युनिष्ट केन्द्र स्थापना गरी समाजवादी क्रान्ति गर्ने दृढतासहित आफू माओवादी केन्द्रमा आएको बताउनु भयो । नेता कार्कीले भन्नुभयो, ‘नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने र समाजवादी क्रान्ति गर्ने माओवादी केन्द्रको पहल निकै सकारात्मक छ । यसलाई आफ्नो ठाउँबाट योगदान दिन सकिन्छ भन्ने विश्वासका साथ माओवादी केन्द्रमा आएको छु ।’ अर्का नेता बलम्पाकीले कम्युनिष्टहरुको एकताले मात्रै बुर्जुवा सत्ता पल्टाउन सकिने बताउनु भयो ।
पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशभित्रका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकतावद्ध गरेर समाजवादी क्रान्ति गर्ने र विश्वलाई नयाँ सन्देश दिने उद्धेश्यसहित बाम तालमेल र पार्टी एकताको प्रक्रिया अगाडि बढेको बताउँदै कार्की र बलम्पाकीको पार्टी प्रवेशले त्यसमा थप बल मिलेको बताउनु भयो ।

कात्तिक १०, २०८१ शनिबार १०:१५:१४