नेताहरुलाई विकास र जनसेवामा जोड्दैछौं, ‘प्रधानमन्त्री’

कार्तिक १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) का नेताहरुलाई विकास र जनसेवामा जोड्ने गरी गाउँ–गाउँमा पठाउन लागेको बताउनु भएको छ ।
नेकपा (माओवादी केन्द्र) निकट मोर्चा तथा जनवर्गीय संगठनहरुका प्रमूखहरुसँगको सामूहिक भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘पार्टीको सम्पूर्ण शक्तिलाई विकास र जनसेवाका काममा लगाउन जरुरी छ । त्यसका लागि सरकारले पुरक बजेट ल्याएर भएपनि जनताका आकांक्षा सम्बोधन गर्ने कोशिस गर्दैछ । तपाईहरु पनि कार्यक्रम बनाएर गाउँ गाउँमा जानुस् ।’
भेटमा प्रधानमन्त्रीले गरीबका लागि सरकार कार्यक्रम, युवा स्वरोजगार र जनता पेन्सन कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘१०, १५ अरब बजेटको व्यवस्था गरेर गरीबका लागि सरकार कार्यक्रमलाई प्रभावकारी बनाइँदैछ । युवा स्वरोजगार कार्यक्रम पनि पहिलेभन्दा प्रभावकारी रुपमा जान्छ । जनताका लागि जनता वा किसान पेन्सन कार्यक्रम ल्याइदैछ । यसले जनतामा नयाँ आशा सिर्जना हुन्छ ।’
प्रधानमन्त्रीले एउटा तप्का सरकारले जतिसुकै राम्रो गरेपनि विरोध गर्ने नियतसहित लागेकाले त्यसबाट भ्रमित नहुन र सरकारका सकारात्मक कामको स्वामित्व लिने गरी काम गर्न नेताहरुलाई आग्रह गर्नुभयो ।
मोर्चा र जनवर्गीय संगठनका प्रमूखहरुले सरकारले अहिलेसम्म लिएका निर्णय सकारात्मक रहेको र जनतामा आशा जागेको भन्दै कार्यक्रमलाई जनतासम्म लैजान विशेष पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
भेटमा माओवादी केन्द्रनिकट प्राध्यापक संगठन, किसान महासंघ, जनसांस्कृतिक महासंघ, वाइसिएल, ट्रेड यूनियन महासंघ, विद्यार्थी संगठन, बुद्धिजीवी संगठन, महिला, दलित, प्रेस सेन्टर, शिक्षक, बेपत्ता परिवार लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

कात्तिक ७, २०८१ बुधबार ७:१४:२६