नेपालको परिर्वतनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायकः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताउनु भएको छ । शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले निरंकुश व्यवस्था विरुद्धका विभिन्न आन्दोलन र १० वर्षे जनयुद्धमा पनि नेपाली शिक्षकहरुको ठूलो त्याग र बलिदान भएको बताउनु भयो । नेपाल अब राजनीतिक परिवर्तनबाट आर्थिक परिवर्तनको बाटो तर्फ लम्किएको उहाँको भनाई थियो ।

विश्व शिक्षक संगठनले आगामी सेप्टेम्बर महिनामा नेपालमा १९ औं विश्व सम्मेलन गर्ने भएको छ । सम्मेलनको तयारी बैठकको सिलसिलामा नेपालमा भेला भएका विश्व शिक्षक संगठनका प्रतिनिधिहरुले अध्यक्षलाई भेट गरेका हुन् ।

अध्यक्ष प्रचण्डले विश्व शिक्षक संगठनको सम्मेलन नेपालमा गर्ने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताउनु भयो । आफू शिक्षक पृष्ठभूमिबाट आएको उल्लेख गर्दै अध्यक्षले भन्नुभयो, ‘हाम्रो पार्टीका अधिकांश नेताहरु पनि शिक्षक पृष्ठभूमिबाटै आउनुभएको छ ।’

विश्व शिक्षक संगठनकी अध्यक्ष मफुजा खानमले नेपालमा शिक्षकहरुको संघर्ष दुनियाँका लागि गौरवको विषय भएको बताउनु भयो । खानमले अध्यक्ष प्रचण्डलाई भन्नुभयो, ‘हामी सम्पूर्ण शिक्षकहरुका लागि तपाई आदर्श व्यक्तित्व र प्रेरणाको स्रोत हो ।’ उहाँले अध्यक्ष प्रचण्डले देखाउनु भएको सद्भावप्रति आभार प्रकट पनि गर्नुभयो ।

साम्राज्यवाद विरोधी शिक्षकहरुको उक्त संगठनका ६ जना प्रतिनिधि भेटघाटमा सहभागी थिए । जसमा १ जना नेपालका, ३ जना भारतका र २ जना बंगलादेशका प्रतिनिधि रहेका थिए । भेटमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरुको पनि प्रतिनिधित्व थियो । एकीकृत अखिल नेपाल शिक्षक संगठन विश्व शिक्षक संगठनमा आवद्ध शिक्षक संगठन हो ।

कात्तिक ७, २०८१ बिहीबार २:२१:३४