नेपाली जनताको शान्ति, स्थिरता र विकासको सपनामा व्यवधान नहोस् : अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ फागुन । अध्यक्ष प्रचण्डले नेपाली जनताको शान्ति, स्थिरता र विकास सपनामा कहीं कतैबाट व्यवधान हुने छैन भन्ने आशा जागेको बताउनु भएको छ । उहाँले भन्नुभयो, तर परिस्थिति अझै ढुक्क हुनसक्ने स्थितिमा छैन ।’
नेपाल राष्ट्रिय कर्मचारी संगठन काठमाडौं उपत्यका खानेपानी लिमिटेडको तेस्रो केन्द्रीय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अध्यक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चिसिएको दुई देश बीचको सम्बन्धमा केही सुधार आएको भने बताउनु भयो ।

एक अर्को प्रसंगमा उहाँले भन्नुभयो, ‘यो २१ औं शताब्दीलाई मानव जातिले खानेपानीको शताब्दी रुपमा बुझ्दैछ । पानी त्यति महत्वपूर्ण हुँदैछ विश्वमा पानी नै अहिले सबैभन्दा धेरै आय आर्जनको माध्यम भएको छ । नेपाल पानीको लागि धनी देश हो । जलविद्युत महत्व कम हुँदै गएको खतरा तपाईं हामीले पनि महशुस गरेका छौं । नेपालीले यहाँ निकालेको विद्युत अरुलाई बेच्ने भन्ने सम्भावना सिमित हुँदैछ । अब बेच्ने भनेको पानी हो । एक्काइशौं शताव्दीमा पानीको सप्लाई मुख्य हुँदैछ । हामीले पानी निर्यात गर्न सक्छौं । अब संसारमा पानीको कुरा मुख्य हुँदैछ । नेपालको पानी विभिन्न देशहरुमा सप्लाई गरेर हामी आय आर्जन गर्ने नयाँ युग तिर प्रवेश गर्न सक्छौं । ’

उहाँले काठमाडौं उपत्यकामै खानेपानीको व्यवस्थापन गर्ने कुराका लागि मेलम्ची ल्याउने कुरा फलामको च्युरा जस्तो भएका पनि बताउनु भयो । उहाँले अगाडि भन्नुभयो, ‘हामीले जनतामा एउटा प्रतिवद्धता गर्न जरुरी छ । जनतालाई सेवा दिने प्रतिवद्धता । काठमाडौं उपत्यकामा खानेपानीको राम्रो सेवा दिने उद्देश्यका निम्ति वैचारिक , सैद्धान्तिक र नीतिगत जे भने पनि गहिरो प्रतिवद्धता पहिलो आवश्यकता हो । ’
हामीसँग भएका संघसंस्था के कति आवश्यक हुन के कति अनावश्यक हुन भन्ने बारेमा छनौट पनि गर्नुपर्ने भएको छ । किनभने चाहिने भन्दा बढि संघसंस्था भए भने पनि कार्यको प्रभावकारितामा नकारात्मक असर गर्छ । आवश्यकहरुलाई राख्ने र तिनीहरुको कोर्डिनेशनको लागि राष्ट्रिय प्राधिकरणमा जानु पर्ने हो कि । यहाँ उठेका समस्याहरुका बिषयमा संयोजन समितिको बैठकमा खानेपानीकै समितिका रुपमा उठाउने छु । ’

अध्यक्षले भन्नुभयो, ‘संसारभरले गर्व गर्नुपर्ने नेपालको डेमोक्रेसी भएको छ । अन्यत्रको भन्दा समावेशी छ भन्ने छ । राजनीतिले कर्मचारी तन्त्रलाई डोहोर्याउने छ हो । नेतृत्व त फेरी राजनीति कै हुन्छ संसारमा । सबैतिरको अराजकता वा अस्तव्यवस्तता राजनीतिमा अराजकता भएर हो । राजनीति ट्रयाकमा हुन्थ्यो भने अरु सबै तन्त्र पनि एउटा ट्रयाकमा हुन्थे । जबसम्म राजनीति ट्रयाकमा हुन्न त्यसको असर सबैतिर पर्छ । सबै संगठनात्मक क्रियाकलाप राजनीति होइनन् । त्यसका सामाजिक र व्यवहारिक सबै पक्ष छन् ।’

कात्तिक ७, २०८१ बुधबार ९:४:१२